पाल्पा ।
जिल्लाको रम्भा गाउँपालिका–१ काे नौ गाउँ र गैरिमा रहेका चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ । चौतारीको शीतल छहारीमा बस्ने स्थानीय तथा बाटोमा हिँड्ने बटुवालाई इमेल इन्टरनेटको सुविधा दिन वडा कार्यालयले निःशुल्क इन्टरनेट सेवा सुरु गरेको हो ।
यो सेवा सञ्चालनमा आएपछि फुर्सदको समय, दिउँसो गर्मीयाममा शीतल छहारीमा बसेर नयाँ–नयाँ प्रविधिका ज्ञान सीप इन्टरनेटका माध्यमबाट खोजी गरी अध्ययन गर्ने प्रयोगकर्ता बढेका छन् । अहिले वडाका दुई वटा चौतारी नौगाउँ चौपारी र गैरीमा इन्टरनेट जोडिएको वडाध्यक्ष ईश्वर काफ्लेले जानकारी दिनु भयो । आफ्नो कार्य कालमा वडा नम्बर १ मा रहेका २० वटा चौतारीमा इन्टरनेट सेवा प्रवाह गर्ने लक्ष्य रहेको काफ्लेले बताउनु भयो ।
दिउँसोमा चौतारीको शीतल छहारीमा धेरैको जमघट हुने, खेती लगाउने किसान पनि कामको बोझले थकित भएर थकान मेटाउने थलो, बाटो हिँड्ने बटुवा बस्ने ठाउँ भएकाले प्रविधिको प्रयोग गरी नयाँ–नयाँ कुरा खोज अनुसन्धान र ग्रहण गरुन् भन्ने उद्देश्यले निःशुल्क इन्टरनेट सेवा ल्याइएको वडाध्यक्ष काफ्लेको तर्क छ ।
अहिले सेवा सुरु भएपछि ज्येष्ठ नागरिक, युवा तथा फुर्सदिला नागरिक चौतारीमा बसेर स्वच्छ हावासँगै इन्टरनेटको प्रयोग गरिरहेका छन् । गर्मीमा शीतल छहारीमा बसेर इन्टरनेटका माध्यमबाट नयाँ कुराको जानकारी, आफन्त, साथीभाइसँगको कुराकानी गर्न पाउँदा स्थानीय बासिन्दा मक्ख छन् ।
फाइल फोटो