प्रचण्डसहित आधा दर्जन माओवादी नेतालाई सङ्क्रमण, सबै महाधिवेशन प्रतिनिधिलाई परीक्षण गर्न निर्देशन

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित आधा दर्जन नेतालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमण पुष्टि भएपछि हालै सम्पन्न माओवादी महाधिवेशनका १,७०० सहभागी सबैलाई कोरोनाभाइरस परीक्षण गर्न भनिएको माओवादी पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताएका छन्।

माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेता र पार्टी कार्यालयका कर्मचारीसहित एक दर्जनलाई कोभिड पुष्टि भइसकेको ढकालले जानकारी दिए।

“पीसीआर परीक्षण गराउनु र स्वास्थ्य मापदण्ड अपनाउनु भनेर सबैलाई कडाइपूर्वक नै भनिएको छ,” ढकालले भने।

कर्मचारीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा बिहीवारदेखि नै अतिआवश्यक बाहेकका काम बन्द गरिएको छ।

शुक्रवार गरिएको एन्टिजन र पीसीआर परीक्षणमा पूर्वप्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई पनि सङ्क्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *