पर्वत ।
स्क्राबल क्लव पर्वत र माझीगाउँ आधारभूत विद्यालयको संयुक्त आयोजनामा आयोजित छैठौं जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप मंगलबार सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाका १० विद्यालयका २४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सभापतित्व माझीगाउँ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डोलनाथ भुसालले गर्नुभएको थियो। कार्यक्रममा फलेवास नगरपालिकाका नगर शिक्षा अधिकृत कृष्ण आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै स्क्राबल क्लब नेपालका अध्यक्ष केशव पराजुली, महासचिव नवीन पन्त तथा सल्लाहकार हिमबहादुर पौडेल क्षेत्री विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रम सञ्चालन स्क्राबल क्लव पर्वतका संयोजक विक्रम थापाले गर्नुभएको थियो। विद्यालयका प्रधानाध्यापक विनादेवी शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि कृष्ण आचार्य तथा विशिष्ट अतिथिहरूले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
प्रतियोगितामा कालीगण्डकी एकेडेमीले लगातार तेस्रो पटक च्याम्पियनको उपाधि हात पारेको छ। यसअघि चौथो र पाँचौं जिल्लास्तरीय च्याम्पियनसिपको उपाधि दिविशा थापाले जितेकी थिइन्। यसपटक भने छैठौं जिल्लास्तरीय च्याम्पियनसिपको उपाधि समृद्धि जोशीले जित्दै इतिहास रचेकी छन्।
प्रतियोगितामा आदर्श आवासीय माध्यमिक विद्यालय, कुश्माका शाहिल गिरी द्वितीय भएका छन् भने नमुना आवासीय माध्यमिक विद्यालयका न्युसन श्रेष्ठ तृतीय भएका छन्। त्यस्तै आदर्श आवासीय माध्यमिक विद्यालयका दिप्सन पौडेल र नमुना आवासीय माध्यमिक विद्यालयका सक्षम रेग्मी सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताबाट छनोट भएका विजेताहरू आगामी कात्तिक महिनामा बुटवलमा आयोजना हुने १२औँ राष्ट्रिय स्क्राबल प्रतियोगितामा सहभागी हुन सफल भएका छन्।
उक्त अवसरमा विक्रम थापाको संयोजकत्वमा सात सदस्यीय स्क्राबल क्लब पर्वतको कार्यसमिति गठन गरिएको छ। नवगठित कार्यसमितिका सदस्यहरूमा सन्तोष थापा, यमनाथ पौडेल, उमा गुरुङ, लालु बसेल, वविना श्रेष्ठ र तुलसी श्रेष्ठ रहेका छन्।
जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिताले स्क्राबल खेलप्रतिको आकर्षण बढ्दै गएको देखाएको छ। प्रतियोगिताले विद्यार्थीहरूको शब्दज्ञान, भाषिक क्षमता, तार्किक सोच तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



