किम्रोङ खोलाको बहाब खुल्यो ; तत्कालका लागि जोखिम टरेको प्रशासनको भनाइ

पर्वत ।

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाब खुलेको छ ।

गए राति करिब ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको थियो ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार थुनिएको खोलाको बहाव आफैं खुलेर गएको छ ।

रातभरिमा पानीको बहाब खुलेको र अहिले खोला साविकको अवस्थामा आइसकेको जानकारी स्थानीयले दिएका छन् । बरालका अनुसार खोलाको बहाब साविकको अवस्थामा आइसकेकोले हाललाई जोखिम टरेको छ ।

पहिरो खसेर खोला थुनिएको ठाउँमा प्रहरीको टोली पनि आज बिहान ४ बजे नै त्यसतर्फ लागेको उनले बताए । पहिरो गएको भनिएको सो स्थान कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । गाउँ पालिका अध्यक्ष बिष्णुबहादुर केसीका अनुसार राति १२ बजेतिरदेखि खोलाको एक छेउबाट विस्तारै खोलाको बहाब खुलेको हो ।

अध्यक्ष केसीले भने, ‘मध्यरातिदेखि पहिरोले थुनिएको एक छेउको भागबाट खोलाको बहाब विस्तारै खुलेको थियो । अहिले खोलाको बहाब साविककै अवस्थमा आइसकेको छ । अहिलेलाई जोखिम टरेको छ ।’

गए राति अचानक पहिरो खसेर खोला थुनिए पछि किम्रोङ खोला एवं मोदीखोला तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको थियो ।

सुरक्षा निकायको आग्रह पछि स्थानीय बासिन्दाहरू सुरक्षित स्थानमा गएर रातभर जाग्राम बसेका थिए।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *