बेमौसमी वर्षाले काटेको धान भिज्यो, कृषकहरु चिन्तित

पर्वत ।

सोमबार दिउँसो देखि परेको बेमौसमी वर्षा र हावाका कारण जिल्लाका विभिन्न स्थानहरूमा कृषकले काटेर सुकाएको धान भिजेको छ भने काट्न ठिक्क परेको धानमा पनि क्षति पुगेको छ । जिल्लाका मोदी, कुस्मा, विहादी लगायतका स्थानहरुमा सो वर्षाले धान बालीमा क्षति पुर्याएको हो । हाल पश्चिमी वायुसँगै, स्थानीय वायु र भारतको पश्चिम बङ्गालआसपास रहेको न्यूनचापीय प्रणालीले देशका विभिन्न स्थानमा वर्षा गराई रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आईतबार पछिका दुई दिन सम्म बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको थियो । साथै देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको थियो ।

महाशाखाले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक गरेको यो सूचनापश्चात् सोमबार दिउँसो देखि अविरल रुपमा आएको वर्षाले पर्वत सहित अधिकांश जिल्लामा भर्खरै काटेको र काट्ने तयार भएको धान बालीमा क्षति पुर्याएको छ।

कृषकहरूले तिहार शुरू भए लगत्तै धमाधम धान काट्न थाले। परिणामस्वरूप खेतमा काटेर राखेको धानलाई अविरल वर्षाले क्षति गर्यो। वर्षाले भित्र्याउन ठिक्क परेको धान भिजेपछि किसानलाई चिन्ताले सताएको छ।

अधिकांस किसान मौसमी सूचनाको पहुँचमा नभएको र सूचना पाएपनि चासो नदिँदा धान बालीमा क्षति हुने गरेको छ। किसानले मौसमी सूचनालाई पालना गरेमा क्षति कम हुन्छ। प्रायः किसानहरु मौसमी सूचनालाई झ्वाट्टै विश्वास समेत गर्दैनन्। जसले गर्दा प्रतिकूल मौसमका कारण पटक–पटक क्षति व्यहोर्नु परेको छ ।

मङ्गलवार दिउँसोसम्म पहाडी भूभागतिर बदली हुने र वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्को भनाई छ । तराईका क्षेत्रमा वर्षा कम हुँदै गइरहेको र त्यहीअनुसार घट्दै जाने अनि मौसम पनि सुधार हुने भएकोले त्यसपछि मात्र धान काट्न मौसमविदको सुझाब छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *