भ्रष्ट नेताको मुख नहेरी भण्डाफोर गर्न अर्थमन्त्रीकाे आग्रह

पोखरा ।

अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताविरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन्। पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गरेका हुन्।

‘गलत क्रियाकलापका विरुद्धमा आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस्। मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्।’ उहाँले भन्नुभयो- ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरुको काँधमा छ।’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन आग्रह गरे।

सरकारले पहिलोपटक गरिबहरुलाई सम्झेर अतिविपन्न परिवारहरुलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीहरुलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरुको व्यवस्थापन, दलित आवसलगायतका लोकहितकारी निर्णय गरेको उनले जानकारी दिए।

सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै मन्त्री शर्माले कतिपय प्रदेशहरुमा आम संचार प्रतिष्ठान गठन सम्बन्धी विधेयकहरू पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए।

मन्त्री शर्माले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम संचालन गर्नको लागि आवश्यक परे सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाए। उनले अनुसन्धानमुखी र खोजमूलक पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिए।

यसैबीच नेकपा माओवादी केन्द्र कास्कीका अगुवा कार्यकर्ताहरुसँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुखसमेत रहनुभएका नेता शर्माले सरकारले जनताको पक्षमा गरेका राम्रा कामहरुको प्रचार प्रसार गरी त्यसलाई संगठन विस्तारमा लगाउन निर्देशन दिए।

सरकारले गरिबको पक्षमा, विरामीको पक्षमा, दलितको पक्षमा, महिलाको पक्षमा, शहीद परिवारको पक्षमा, घाइते अपाङगता भएकाहरुको पक्षमा अभूतपूर्व काम गरेको भन्दै उहाँले ती कामहरुलाई पार्टी संगठन निर्माणमा उपयोग गर्न आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *