पाेखरा।
गत आर्थिक वर्षमा गण्डकी प्रदेशका उद्योगहरुको क्षमता उपयोग ४० प्रतिशत मात्र रहेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । अघिल्लो वर्षको ती उद्योगहरुको औसत क्षमता उपयोग ३९.९ प्रतिशत रहेको थियो । प्रदेश १ का उद्योगहरुको क्षमता उपयोगको तुलनामा गण्डकी प्रदेशका उद्योगहरुको क्षमता उपयोग १३ प्रतिशत बिन्दुले कम हो । गत आर्थिक वर्षमा गण्डकी प्रदेशका उद्योगहरुको क्षमता उपयोग औसत ५३ प्रतिशत थियो ।

गण्डकी प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरुमध्ये औसत क्षमता उपयोग भन्दा बढी क्षमतामा सञ्चालन भएका उद्योगहरुमा चकलेट (८०.२ प्रतिशत), बिस्कुट (७२.६ प्रतिशत), बियर (५६.६ प्रतिशत), इँटा (५५ प्रतिशत), चुरोट (४९.५ प्रतिशत) तथा खाने तेल (४८ प्रतिशत) रहेका छन् । बाँकी उद्योगहरु औसत क्षमताभन्दा कममा सञ्चालन भएको राष्ट्र बैंकको प्रतिवेदनले औंल्याएको छ ।
गत आर्थिक वर्ष प्रशोधित दूधको क्षमता उपयोग ७.१ प्रतिशत, सिमेन्ट उद्योगको २०.७ प्रतिशत र अन्य रासायनिक पदार्थ (औषधि) अन्तर्गत ट्याब्लेटको ३७.१ प्रतिशत, क्याप्सुल ४४.८ प्रतिशत, ओईन्टमेन्टको ९.८ प्रतिशत, ड्राई सिरपको ६.९ प्रतिशत र लिक्विड औषधिको ३२.२ प्रतिशत रहेको छ । प्रशोधित दूध उत्पादन उद्योगबाट धुलो दूध, आईसक्रिम, नौनी घ्यु, दही, पनिरजस्ता दूधजन्य पदार्थको समेत उत्पादन हुने भएकोले उक्त उद्योगको क्षमता अन्य दूधजन्य पदार्थ उत्पादनमा उपयोग हुने गरेको प्रतिवेदनमा उल्लेख ख ।

‘गत आर्थिक वर्ष खाद्यान्नमा आधारित उद्योगमध्ये तोरीको तेलको उत्पादन ३.६ प्रतिशत, प्रशोधित दूधको उत्पादन ३५.३ प्रतिशत, बिस्कुटको उत्पादन ९ प्रतिशत, चकलेटको उत्पादन ०.६ प्रतिशत, बियरको उत्पादन ३१.७ प्रतिशत, चुरोटको उत्पादन १५.१ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सोही अवधिमा औषधितर्फ ट्याबलेटको उत्पादन १२.९ प्रतिशत, क्याप्सुलको उत्पादन १५.६ प्रतिशत, इँटाको उत्पादन ६२.४ प्रतिशत र सिमेन्टको उत्पादन २२.५ प्रतिशतले वृद्धि भएको छ ।’ उक्त वस्तुहरुको मागमा आएको वृद्धिको परिणामस्वरुप उत्पादनमा वृद्धि भएको बताइएको छ ।
समीक्षा अवधिमा चाउचाउको उत्पादन ९.३, औषधितर्फ ओईन्टमेन्टको उत्पादन १६.९, ड्राई सिरपको उत्पादन ३४.९ र लिक्विड औषधिको उत्पादन १६.४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा अन्य प्रदेशको तुलनामा बढी छ । आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको हिस्सा १७.५ प्रतिशत रहने अनुमान छ । उक्त प्रदेशमा साना, मझौला र अनौपचारिक क्षेत्रका उद्योगहरुको बाहुल्य रहेको छ । मझौला खालका ४ सय ६० उद्योगहरुमा १८ हजार २ सय ८३ जना र १२ हजार ७ सय २४ लघु उद्यममा ३६ हजार ८ सय ९९ जनाले रोजगारी पाएको बताइएको छ ।
कान्तिपुर बाट