माेदीमा मंसिर ९ देखि ११ गते सम्म ३ दिने प्रदर्शनी एवं विविध संस्कृतिक कार्यक्रम हुने

पर्वत ।

उद्यम दिबस २०७८ काे अबसरमा मोदी गाउँपालिकाले यहि मंसिर ९ देखि ११ गते सम्म ३ दिने प्रदर्शनी एवं विविध संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

“स्थानीय कला संस्कृतिको सम्बर्दन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रबद्र्धन भन्ने नाराका साथ सभाहल परिसरमा संचालन हुने उक्त प्रदर्शनीमा गाउँ पालिका भित्रका स्थानीय उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरु राखिने छ ।

कार्यक्रममा स्थानीय महिला समूहहरु तथा उद्यमीहरु सहितको बृहत र्याली प्रदर्शनी गरिने छ ।  स्थानीय होम स्टेहरुबाट निर्मित खानाका परिकारहरु, व्यवसायिक स्टलहरु, लघु उद्यम , कृषि, पशु तथा स्थानीय हस्तकलाका सामग्रीहरुको प्रदर्शन गरिने कार्यक्रमका संयोजक एवं गाउँपालिका उपाध्यक्ष सेती महतले जानकारी दिनुभयो । प्रदर्शनीमा उत्कृष्ट हुने उद्यमी तथा समूहहरुलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

सोही अबसरमा उद्यमशीलता शीर्षकमा मोदी गाउँपालिकाभित्रका समूहहरुको रत्यौली प्रतियोगिता समेत आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममा दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति एवं लाइभ दोहोरी समेत रहने जनाइएको छ ।

मोदी गाउँपालिकाभित्र उत्पादन हुने स्थानीय अल्लोको कपडा, मह, लप्सीको अचार निकै प्रख्यात मानिन्छन् । पछिल्ला बर्षहरुमा यहाँका कृषकहरु व्यवसायिक रुपमा मौरी, कुखरा, बाख्रा, भैसी, गाई, बंगुर, कालिज लगायतका पशुपंक्षी पालन तर्फ आकर्षित भएका छन् ।

त्यसै गरी व्यवसायिक तरकारी खेतिको अलाबा किबी, अलैची, सुन्तला, कागती लगायतका फलफूलहरुमा समेत कृषकहरुको आकर्षण बढिरहेको छ ।
व्यावसायिक कृषकहरुलाई उत्प्रेरित गर्दै उनीहरुको क्षमता अभिबृद्धिका लागि गाउँपालिकाले बिबिध कार्यक्रमहरु संचालन गरिरहेको अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो ।

मौलिक उत्पादनहरुलाई स्वदेश तथा बिदेशमा परिचित गराउन, प्रचार प्रसार  गर्न र बजारीकरणलाई टेवा दिनका लागि प्रदर्शनीले थप सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष पौडेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *