हामी जीवनमा सफलता हासिल गर्ने आकंक्षा राख्छौं । केही गर्न खोज्छौं । यसरी कुनैपनि क्षेत्रमा सफलता हासिल गर्नका लागि हामीले यस्तो साथीहरुको सर्कल तयार गर्नुपर्छ, जसले हामीसँग सहयोग र समर्थनको हातेमालो गरोस् ।
हामी कुनै पेशा गर्छौं, त्यसमा थप उन्नती गर्न पनि हामीलाई साथी चाहिन्छ । हामी कुनै व्ययसाय वा उद्यम गर्न चाहन्छौं, त्यसका लागि पनि हामीलाई राम्रो साथीहरु चाहिन्छ । यस्ता साथीहरुसँगको सहकार्य वा टिमवर्कले कुनैपनि काम गर्न सहज हुन्छ ।
साथी बनाउनुको एकमात्र फाइदा छैन । साथी भनेका दुःखमा सम्हाल्ने र खुसीमा उत्साह साट्ने पात्र हुन् । साथीको महत्वलाई बुझेर हाम्रा पूर्खाहरुले यसको महत्व एवं मूल्यबारे अनेक कथा, किंवदन्तीको विकास गरे । सुदामा र कृष्णजीको आदर्श मित्रताबाट पनि हामीलाई यसको पाठ सिकाइयो ।
अहिले भौतिक विज्ञानमा पनि साथीको महत्वलाई प्राथमिकता दिइने गरिएको छ । हामी आ–आफ्नै काम धन्दा, पेशा व्यवसाय, परिवार आदिको चक्करमा लागेर साथी संगत छुटाउँदै गएका छौं । हाम्रा साथी–संगत पातलिएको छ ।
यस्तो अवस्था छ कि, कुनै दिन उन्मुक्त खुसी साट्न परेमा हामीसँग साथीहरु हुँदैनन् । कुनै विपतमा सर–सहयोग खोज्नुप¥यो भने हामीसँग साथीहरु हुँदैनन् । यसरी एक्लिदै गएको हामीमा तनाव, एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्या थपिदै गएको छ । पछिल्लो समय डिप्रेसनबाट मुक्त हुनका लागि पनि साथीको सर्कल बनाउनुपर्छ भन्न थालिएको छ ।