पर्वत ।
हिमाली जिल्ला मुस्ताङमा सोमवार विहानैदेखि बाक्लो हिमपात भएको छ। हिमपात भएपछि चिसो अत्याधिक बढेको छ। समयमै हिमपात हुँदा बाली सप्रने भएकाले किसान खुशी भएका छन् भने चिसो बढेका कारण जनजीवन प्रभावित भएको छ।
मुस्ताङका सबै क्षेत्रमा बिहानैदेखि हिमपात भएको हो । यस वर्ष समयमा नै हिमपात भएकाले किसान खुशी भए पनि मुस्ताङ भ्रमणमा आएका पर्यटक, तीर्थयात्री र सर्वसाधारणका लागि भने चिसोका कारण जनजीवन कष्टकर बनेको छ ।
माथिल्लो मुस्ताङको लोमान्थाङमा झण्डै २ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् । हिमपातका कारण धाराको पानीसमेत जमेको छ। चिसोले लोमान्थाङ भ्रमणमा आएका पर्यटक पनि प्रभावित भएका छन्।
मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङको लोमान्थाङलगायत उच्च हिमाली भेगमा विहानैदेखि हिमपात भएको स्थानीयले बताएका हुन्।
हिमपात भएपछि मुस्ताङका स्याउ उत्पादक किसान खुशी भएका छन्। हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुन्छ ।