भोलि देखि चौथो राष्ट्रिय सभा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड मोदीको डिमुवामा शुरू हुँदै

पर्वत ।

भोलि मंसिर २० गतेदेखि मोदी गाउँ पालिकाको वडा नं ६ डिमुवामा सञ्चालन हुने राष्ट्रियसभा अध्यक्ष कप र राष्ट्रपति रनिङ शिल्डको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

जिल्लाको मोदी गाउँपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रियसभा अध्यक्ष कपको चौथो संस्करण यही मंसिर २० गतेदेखि २४ गतेसम्म आयोजना हुने भएको हो ।

महिला तथा पुरुष भलिबल, रत्यौली गीत प्रतियोगिता, भजन प्रतियोगितासहित जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरूबिच मैत्रीपूर्ण भलिबल र म्युजिकल चेयर खेल राखिएको छ ।  ‘चौथो राष्ट्रियसभा अध्यक्ष कप–२०८०’  ‘खेल अभियान : पालिकाको पहिचान’ नारासहित आयोजना गरिएको हो।

प्रतियोगितामा पुरुष भलिबलतर्फ गाउँपालिकाको वडास्तरीय प्रतिस्पर्धा राखिएको छ। जसमा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ।

महिलातर्फको भलिबल भने खुल्लातर्फ आयोजना गरिएको छ। यसमा देशभरका कुनै पनि महिला समूहले प्रतिस्पर्धा गर्न पाउने छन्। यो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

रत्यौली प्रतियोगितामा मोदी गाउँपालिकाभित्रका समूहले मात्रै भाग लिन पाउने छन्। यसमा प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउने छन्।

मोदी गाउँपालिकाका समूहहरू मात्रै सहभागी हुन पाउने भजन प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय पुरस्कार क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउने छन्।

भलिबलमा सहभागी हुने समूहले १० हजार रुपैयाँ तथा रत्यौली र भजन प्रतियोगितामा सहभागी हुने समूहले यातायात खर्चवापत १० हजार र ५/५ हजार रुपैयाँ पाउने छन्।

प्रतियोगिता मोदी गाउँपालिका–६ तिलाहारमा रहेको नवजागृत बहुमुखी क्याम्पसको प्राङ्गण र मोदी युवा क्लबको खेल मैदानमा सञ्चालन गरिने र तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बताए।

त्यसै गरी राष्ट्रपति रनिङ शिल्ड खेलका लागि गाउँ पालिकाका मावि तथा निमावि तहका विद्यार्थीहरू सहभागी हुँदैछन् । सो प्रतियोगिता अन्तर्गत छात्र छात्रा भलिबल, दौड, रिले दौड, हाइजम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट, ज्याभलिन थ्रो, कराते लगायतका खेलहरु सञ्चालन हुने छन् ।

हेर्नुहोस् खेल तालिका

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *