पर्वत ।
जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुरमा आईतबार दिउँसो एक युवाको हत्या भएको छ । संगै जंगलमा तरुल खोज्न गएका २ युवा मध्ये पर्वतको मोदी २ देउपुरका ४० बर्षीय उदय रिजालको हत्या भएको प्रहरीले जनाएको छ ।
जंगलमा सिकिस्त अवस्थामा भेटिएका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि लगिएको थियो । चिकित्सकले तत्कालै मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक अविनाश दिप जिसीले जानकारी दिनु भयो ।
घटनामा घाइते भएका अर्का ४० बर्षका श्रीराम शर्माकाे टाउकोमा चोट लागेको छ। शर्मालाई उपचारका लागि पोखरा पठाइएको जिसीले जानकारी दिनु भयो ।
घटनामा संग्लन्न ३५ बर्षका प्रेमबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक जिसीका अनुसार दिनभर जसो संगै रहेका उनीहरु मध्ये हत्याका अभियुक्त नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । रिसिबीको कारण भने खुल्न सकेको छैन ।
रिजालमाथि तरुल खन्न प्रयोग हुने रड प्रहार गरेको देखेपछि प्रत्यक्षदर्शी शर्मालाई समेत नेपालीले रड प्रहार गरेका थिए । रडले लागेर घाइते भएका शर्मा भने भागेर आफ्नो ज्यान जोगाएको प्रहरीले जनाएको छ । अभियुक्तले घटनामा प्रयोग गरेको रड , तरुल, टोपी र चप्पल भेटिएका छन् ।
घटनास्थल पातीचौर देखि करीब चार किलो मिटर टाढाकाे दूरीमा राहाले मख सडक खण्डको घट्टे खोलानेर पर्दछ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।