पर्वत ।
मोदी गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। घोषणा गर्नुपूर्व आवश्यक तयारी र हालसम्मको प्रगतिको अवस्थाबारे प्रदेशस्तरीय अनुगमन टोलीले गाउँपालिकामा स्थलगत अनुगमन तथा समीक्षा गरेको छ।
टोलीले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि भएका गतिविधि, पूरा भएका सूचक, बालबालिकाको अधिकार संरक्षण, सहभागिता तथा बाँकी कामको अवस्थाबारे जानकारी लिएको हो।
गाउँपालिकाले बालमैत्री स्थानीय शासनलाई अभियानका रूपमा अघि बढाउँदै वडास्तरबाट आवश्यक सूचक पूरा गर्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ। गाउँपालिकाका अनुसार सबै वडालाई यसअघि नै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकिएको छ।
गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले बालबालिकाको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउँदै बालमैत्री शासनलाई घोषणामा मात्र सीमित नराखी व्यवहारमै कार्यान्वयन गरिने बताइन्। शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र विकासका क्षेत्रमा बालबालिकालाई केन्द्रमा राखेर काम भइरहेको उनको भनाइ छ।
उपाध्यक्ष बिमल लामिछानेले बालमैत्री स्थानीय शासनको घोषणाले स्थानीय विकास प्रक्रियामा बालबालिकाको सहभागिता र अधिकारलाई थप संस्थागत गर्ने बताए। उनले घोषणा प्रक्रियामा जनप्रतिनिधि, कर्मचारी, विद्यालय, बाल क्लब, अभिभावक र समुदायको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गरे।
प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले घोषणाका लागि आवश्यक सूचक तथा प्रक्रिया व्यवस्थित रूपमा पूरा गर्ने काम भइरहेको बताए। प्रदेशस्तरीय अनुगमनबाट प्राप्त सुझावलाई समेट्दै बाँकी तयारी अघि बढाइने उनले जानकारी दिए।
गाउँपालिकाका सबै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकेपछि पालिकास्तरीय घोषणा गर्ने तयारी गरिएको छ। बालमैत्री स्थानीय शासनको अभियानले बालबालिकालाई विकासका लाभग्राही मात्र नभई स्थानीय विकास प्रक्रियाका सक्रिय सहभागी का रूपमा स्थापित गर्ने लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ।