मोदी, पर्वत ।
सरकारले संसदमा टेबल गर्न लागेको विद्यालय शिक्षा विधेयकले शिक्षक र कर्मचारीहरुको मागलाई सम्बोधन नगरेको भन्दै आफ्नो पेसागत माग पूरा गराउन पहिलो चरणको राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत आज आईतबार मोदी गाउपालिकाकाे कार्यालयमा शिक्षकहरुले धर्ना दिएका छन् ।
मोदी गाउँ पालिकामा रहेका शिक्षकका पेसागत संघ संगठनमा आबद्ध शिक्षकहरुले अविरल वर्षाका बावजुद दिउँसो ११ बजे देखि २ बजे सम्म धर्ना दिएका हुन् ।
सरकारले बनाएको मस्यौदाले २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने माग नसमेटिएको
शिक्षकहरूको गुनासो छ ।
स्थायी, अस्थायी, करार, राहत, साविक उच्च मावि, बाल कक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षकलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन गर्नुपर्ने माग राखेर शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
पहिलो चरणको कार्यक्रम अन्तर्गत आज स्थानीय पालिका स्तरको धर्ना कार्यक्रम गरिएको र साउन ३० गते देशभरका जिल्ला शिक्षा समन्वय एकाइमा धर्ना दिने कार्यक्रम रहेको छ।
त्यसै गरी साउन ३२ गते प्रदेश सामाजिक विकास मन्त्रालयमा धर्ना र जानकारी पत्र दिने कार्यक्रम रहेको बताइएको छ ।

