युरोप फेरि महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

युरोपभरि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा उक्त महादेश पुन: एकपटक कोभिड महामारीको “केन्द्र” बनेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ।

एउटा पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताए।

उनले खोप पर्याप्त मात्रामा नलगाइँदा सङ्क्रमितको सङ्ख्या बढको बताए।

“हामीले हाम्रो काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ। कोभिड-१९ बढेकोमा प्रतिक्रिया जनाउने भन्दा सुरुमै यो सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्छ,” उनले भने।

हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको थियो।

स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप लगाएका छन् भने फ्रान्स र जर्मनीमा भने क्रमश: ६८ र ६६ प्रतिशतले मात्रै लगाएका छन्।

पूर्वी र मध्ययुरोपका केही देशमा त खोप लगाउनेको सङ्ख्या अझै कम रहेको छ।

सन् २०२१ को अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशत रुसीहरूले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्।

डब्ल्यूएचओका युरोप प्रमुख क्लुग्अले सङ्क्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको बताएका छन्।

युरोपेली क्षेत्रमा मध्यएसियाका केही भागसहित ५३ देश समेटिन्छन्।

डब्ल्यूएचओले अहिलेसम्म उक्त क्षेत्रमा १४ लाख मानिसको मृत्यु भइसकेको पुष्टि गरेको छ।

बिबिसी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *