काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा लामो समय शिक्षा मन्त्रालयमा कार्य गरेका पूर्व सचिव डा. महाश्रम शर्माको नियुक्ति भएको छ । अध्यक्ष चयन गर्न शिक्षा ऐनमा भएको व्यवस्था अनुसार लोकसेवा आयोगले आवश्यक प्रकृया पुरा गरेर शर्माको नियुक्तिका लागि मन्त्रीपरिषद्मा पठाएको थियो । मन्त्रीपषिद्को बिहीबारको बैठकले शर्माको नियुक्ति गरेको हो ।
२०१३ सालमा बाग्लुङ्मा जन्मेका शर्माले २०३३ सालमा विद्यालय शिक्षकका रुपमा कार्य शुरु गरेका थिए । २०४२ सालमा विद्यालय निरीक्षकबाट निजामती सेवा प्रवेश गरेका शर्मा ०५२ सालमा उपसचिव, ०६२ सालमा सहसचिव र ०७२ सालमा सचिव भएका थिए । सचिव भए लगत्तै साउन २३ गते निजामती सेवाबाट अवकास भएका उनी शिक्षा सेवामा रहँदा तत्कालिन शिक्षा विभागको दुई पटक महानिर्देशक, शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुख सहित शिक्षाका अन्य निकायहरुमा रहेर कार्य गरेका थिए ।
गत असोज २४ गते बोर्डका तत्कालिन अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको पदावधि सकिएसँगै खाली भएको झण्डै साढे दुई महिना पछि बोर्डले नयाँ अध्यक्ष पाएको हो । २०७३ असार १५ गते शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा गरेको परिवर्तन सँगै तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद् खारेज भई बोर्डको व्यवस्था गरिएको थियो ।