पर्वत ।
“खेल अभियान पालिकाको पहिचान” भन्ने नारा सहित मंसिर २० गतेदेखि मोदी गाउँ पालिकाको वडा नं ६ डिमुवामा सञ्चालन भएको “राष्ट्रियसभा अध्यक्ष कप २०८०”काे उपाधि वडा न १ भुक देउरालीले हात पारेको छ ।
हिजो भएको फाइनल खेलमा वडा न ५ बाजुङ लाई ३-० काे सोझो सेटमा पराजित गरी भुक विजयी भएको हो । सो खेलमा बाजुङले दोस्रो स्थान हासिल गर्यो भने अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा वडा न ६ तिलाहारलाई ३-२ ले हराउदै वडा नं ८ चित्रेले तेस्रो स्थान सुरक्षित गर्यो ।
सो खेलमा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यसैगरी नव जागृत मावि तिलाहारले ८ स्वर्ण, ४ रजत र ६ कास्य पदक सहित कुल १८ पदक प्राप्त गरी लगातार दोस्रो पटक राष्ट्रपति रनिङ शिल्ड हात पारेको छ । सरस्वती मावि बाजुङ ले ५ स्वर्ण, ३ रजत र १ कास्य गरी ९ पदक प्राप्त गरी द्वितीय स्थान हासिल गरेको छ । त्यसै गरी नव ज्योति थम माविले ३ स्वर्ण, ६ रजत र ३ कास्य सहित १२ पदक प्राप्त गरी तृतीय स्थान हासिल गरेको छ ।
महिलातर्फको भलिबल खुल्लातर्फ आयोजना गरिएको थियो । सो प्रतियोगितामा भने न्यून सहभागीता रह्यो । उक्त प्रतियोगितामा चित्रे भलिबल टिम प्रथम, पर्वत भलिबल संघ द्वितीय, धादिङ स्पोर्ट्स क्लबले तृतीय स्थान हासिल गरी क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
भजन प्रतियोगिता तर्फ थामार्जुङ सामुदायिक वन उपभोक्ता समुह प्रथम भएको छ । सो समुहले २५ हजार नगद र प्रमाण पत्र प्राप्त गरेको छ ।
रत्यौली प्रतियोगिता तर्फ डिमुवा आमा समुह प्रथम, गिज्यान आमासमुह द्वितीय, समाज सेवा महिला समुह देउपुर र देउराली आमा समुह मोदी ६ तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय समुहले क्रमश २५ हजार, १५ हजार र १० हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् ।
सबै प्रतियोगिताहरु मोदी गाउँपालिका–६ तिलाहारमा रहेको नवजागृत बहुमुखी क्याम्पसको प्राङ्गण र मोदी युवा क्लबको खेल मैदानमा सञ्चालन गरिएको थियो।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्र छात्रा भलिबल, दौड, रिले दौड, हाइजम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट, ज्याभलिन थ्रो, कराते लगायतका खेलहरु सञ्चालन भएका थिए ।
प्राविधिक त्रुटिका कारण पदक खोसियो
तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न स्पर्धाहरुमा पाँच ओटा स्वर्ण र तीन ओटा रजत पदक प्राप्त गरेको पशुपति माविका कक्षा ११ र १२ का कुनै पनि विद्यार्थीहरुको इमिसमा तथ्याङ्क प्रविष्ट नभएको भेटिए पछि उक्त विद्यालयले प्राप्त गरेका ३ ओटा स्वर्ण पदक खोसिएका हुन ।
एउटा खेलमा उजुरी परेपछि छानबिन गर्दा उक्त प्राविधिक त्रुटि भेटिएको आयोजकले जनाएको छ । खेलाडीहरू प्रतियोगितामा सहभागी भई पदक जिती सके पछि प्राविधिक त्रुटि कै कारण पदक खोसिदा खेलाडी तथा अभिभावकहरुले आक्रोस व्यक्त गरेका छन् । सो त्रुटिकै कारण उक्त विद्यालयले रनिङ शिल्ड तर्फ दोस्रो स्थान गुमाएर २ स्वर्णमा सीमित भएको छ ।
राष्ट्रिय सभा अध्यक्ष कप तर्फ पनि अत्यन्तै कडा प्रतिस्पर्धा गरी तृतीय स्थान सुरक्षित गरिसकेको वडा नं ६ काे पुरस्कार सम्बन्धमा उजुरी परेको थियो । उक्त उजुरी उपर छानबिन गर्दा सम्बन्धित वडा बाहिरको खेलाडी समावेश भएको पाइए पछि उक्त उपाधि अर्को प्रतिस्पर्धी टिम चित्रे ले प्राप्त गर्यो ।
कराँते लाई पदक तालिकामा समावेश गरिएन
राष्ट्र पति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत पहिलो दिन खेलाईएको कराँते खेलका कुनै पनि खेलहरूको नतिजा पदक तालिकामा समावेश गरिएन । उक्त प्रतियोगितामा बजार क्षेत्रका सीमित विद्यालयहरुको मात्र सहभागिता रहेको थियो । प्रतिस्पर्धा गराएर पदक तालिकामा समावेश नगरेकोमा सहभागी विद्यालयहरुले समेत गुनासो व्यक्त गरेका थिए ।
राष्ट्रिय सभा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सामान्य विवादहरू देखिए पनि खेल शान्तिपूर्ण एबम् नियमसंगत ढङ्गले उत्साहजनक रुपमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितालाई मर्यादित र सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षबाट अपेक्षित सहयोग प्राप्त भएको गाउँ पालिकाले जनाएको छ ।