म्याग्दी ।
गाउँघरका विकट बस्तीमा समेत सडकको पहुँच पुग्न थालेपछि म्याग्दीका विभिन्न ठाउँहरूमा बाटो हिँड्ने बटुवाहरूका लागि बनाइएका पाटी,पौवा र धर्मशालाहरू लोप हुँदै गएका छन्।
सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाइँसराइ लगायतका कारणले ग्रामीण जीवनको अभिन्न अंगका रूपमा रहेका प्राचीन तथा ऐतिहासिक ग्रामीण सम्पदाहरू गाउँघरबाट नै लोप हुन थालेका हुन्।
बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका पाटी,पौवा,धर्मशाला, पँधेरा र ढुंगेधाराहरू दिन–प्रतिदिन हराउँदै जान थालेका स्थानीयले बताएका छन्।
बढ्दो जनसंख्या र अव्यवस्थित वस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका यस्ता सम्पदाहरू भत्काइनाका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएपछि अहिले गाउँघरमा यी सम्पदाहरू लोप हुँदै गएका बेनी नगरपालिका ४ सुर्केमेलाका ६५ वर्षिय शशीधर सापकोटाले बताए।
सडक सञ्जाल र होटल रेस्टुरेन्टको सुविधा नभएको समयमा बटुवा, तीर्थयात्रीलगायतका मानिसहरूका लागि विभिन्न ठाउँमा निर्माण गरिएका धर्मशाला,पँधेरा,ढुंगेधारा र पाटीपौवाहरू संरक्षणको अभावमा संकटमा परेका उनले बताए। धर्मशाला, पाटीपौवा, चौतारी निर्माण गर्ने र बटुवाका लागि पिउने पानी राखिदिने परम्परा अहिले हराएको छ।
एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धर्मशाला, पाटीपौवाको प्रयोग प्रचलनमा थियो। तर, अहिले धेरैजसो ठाउँमा निर्माण गरिएका पाटीपौवा र धर्मशाला जीर्ण बनेका छन्। त्यस्ता ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षणमा स्थानीय सरकार र सरोकारवालाको समेत ध्यान नपुगेको स्थानीयको गुनासो छ।
बास बस्नका लागि पाटीपौवा, धर्मशाला, थकाइ मार्न र भारी बिसाउन चौतारी निर्माण गरिन्थ्यो भने प्यास मेटाउनका लागि धर्मशालामा माटोको घैंटो निर्माण गरेर चिसो पिउने पानी राखिदिने चलन थियो। तर, अहिले यो चलन हराएकोप्रति बुढापाका चिन्तित छन्।
बाटोको छेउछाउमा पाटीपौवा र धर्मशाला निर्माण गरेर बाटो हिँड्ने बटुवाका लागि पिउने पानी राखिदिँदा पुण्य आर्जन हुने ज्यामरुककोटका बेदप्रसाद उपाध्यायले बताए।
बटुवाहरू दिनभर हिँड्दा थकान हुने र बास बस्नका लागि बस्तीहरू नभेट्याउने हुँदा रात बिताउन र तिर्खा मेटाउनका लागि धर्मशाला निर्माण गर्ने गरेको उनले सुनाए। पहिले–पहिले अहिलेको जस्तो होटलको व्यवस्था र सडकको सहज पहुँच नभएको हुँदा बटुवालाई बास बस्नका लागि धर्मशाला बनाइने गरिन्थ्यो।
‘पहिले त अहिलेको जस्तो होटलहरू थिएनन्, सडकको सुविधा पुगेको थिएन,गाडी चल्दैनथे, अहिले जताततै गाडी गुड्छन्, एक ठाउँबाट अर्को ठाउँमा पुग्न दिनभर हिँड्नुपथ्र्यो, हिँड्दा–हिँड्दै साँझमा कुनै बस्ती नभएको ठाउँमा पुगियो भने धर्मशालामा बस्ने गरिन्थ्यो,’ उपाध्यायले भने, ‘रातभर त्यही धर्मशालामा बसेर अर्को दिन आफ्नो गन्तव्यमा पुगिन्थ्यो, अहिले त सरर्र गाडी चढ्यो, एक-दुई दिन लाग्ने ठाउँमा पनि एकैछिनमा पुग्न सकिन्छ।’
ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै म्याग्दीमा यस्ता मौलिक सम्पदा र परम्परा अत्यन्तै कम देख्न पाइन्छ। ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटीपौवा, धर्मशालाहरू भत्किएका छन् भने केहीका अवशेषसमेत बाँकी छैनन्। ग्रामीण क्षेत्रका सौन्दर्यसँग जोडिएका यस्ता सम्पदाको संरक्षणमा स्थानीय पालिकाले चासो देखाउन जरुरी भएको स्थानीय बताउँछन्।
यात्रुको सुविधाका लागि बनाइएका पाटीपौवा र धर्मशाला पछिल्लो समय सडकका कारण हराउँदै गएका धवलागिरि गाउँपालिका ७ का गोपाल आचार्यले बताए। जिल्लाका विभिन्न ठाउँमा रहेका दर्जनौं पाटीपौवा र धर्मशालाको अस्तित्व संरक्षण र उपभोग अभावमा संकटमा परेका छन्।
यता बेनी नगरपालिका ६ ले भने यस्ता ऐतिहाँसिक सम्पदाहरूको संरक्षणमा जोड दिँदै आएको छ। बेनी नगरपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले पुराना ऐतिहासिक सम्पदाको संरक्षणमा आफूहरू निरन्तर लागेको भन्दै पालिकाले पनि त्यस्ता सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गरिरहेको बताए। उनले आफ्नो वडामा पनि मौलिक सम्पदाहरू लोप हुँदै गएको भन्दै तिनीहरूको संरक्षणमा वडा कार्यालय र युवाहरूलाई जागरुक बनाएको बताए।
स्थानीय सरकारले उच्चस्थानमा अनावश्यकरूपमा कंक्रिटका भ्यू टावर निर्माण गर्छन् तर, यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिँदैनन्। लाखौं रुपैयाँ खर्च गरेर अग्लो ठाउँमा भ्यू टावर निर्माण गर्नुभन्दा यस्ता पुराना ऐतिहासिक सम्पदाको संरक्षण गर्न आवश्यक रहेको सरोकारवालाहरूको भनाइरहेको छ।
देखिँदैनन् गाउँमा पँधेरा र ढुंगेधारा
ग्रामीण क्षेत्रमा सडकको पहुँच पुगेसंगै कंक्रिणका पक्की घर निर्माण हुने क्रम बढ्दै गएको छ। घरभित्रै बाथरुम (स्नान कक्ष), शौचालय र भान्छामा नै पानीको धारा भएपछि गाग्री बोकेर पँधेरामा पानी लिन जाने झन्झटबाट गृहिणीहरूले मुक्ति त पाएका छन् तर, ग्रामीण सौन्दर्यका चिनारी पँधेरा र ढुंगेधाराहरू लोप हुँदै गएपछि गाउँको सौन्दर्य पनि नासिएको छ।
पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै पँधेरा र ढुंगेधाराको उपयोगमा पनि कमी आएको छ। अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पुर्याउने होडबाजीमा कतिपय जलसम्पदाहरू पुरिएका स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
म्याग्दीका ग्रामीण भेगमा रहेका कयौं पँधेरा र ढुंगेधाराहरू लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरू देख्न नपाउने हुँदा भएका ढुंगेधाराहरूको संरक्षण गर्न स्थानीय तहहरूले नै सक्रियता देखाउनु पर्ने स्थानीय बूढापाकाहरू बताउँछन्।
थाहा खबर बाट