विद्युत् खपत बढाउन घरघरमा इन्डक्सन चुलो, सडकमा इलेक्ट्रिक गाडी : घिसिङ

बुटवल ।

उत्पादित विद्युत्‌को खपत बढाउन इन्डक्सन चुलो र इलेक्ट्रिक गाडी अभियान चलाइने भएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणबाट इन्डक्सन चुलो र इलेक्ट्रिक गाडीमा सहुलियतका कार्यक्रम संचालन हुने बताइएको छ । ‘अब घरघरमा इन्डक्सन चुलो र सडकमा इलेक्ट्रिक गाडी गुडाउने अभियानमा प्राधिकरणले काम गरिरहेको छ,’ शनिबार बुुटवल पुगेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘विद्युत्‌को आन्तरीक खपत बढाउन उपभोक्ताका घरमा विद्युत् क्षमता बढाउने र ठाउठाउमा चार्जिङ स्टेशन बनाउने काम भइरहेको छ ।’

निर्देशक घिसिङका अनुसार उपभोक्ताले घरमा विद्युतीय क्षमता बढाउन चाहे आवेदन दिएको एक महिनाभित्र स्थानीय कार्यालयमार्फत नि:शुल्क क्षमता बढाइदिने काम थालिएको छ । यसोगर्दा घरमा विद्युतीय सामाग्रीको उपयोग बढ्दै गएको छ । देशभर ५० वटा इलेक्ट्रिक चार्जिङ सेन्टर बनाइदैछ । मुख्य सहर र राजमार्गलाई लक्षित गरी स्टेशन बनाउन लागिएको हो । यसले विद्युतीय साधन किन्ने र चढ्नेको संख्या बढ्दै गएको छ । नीजी क्षेत्रले चार्जिङ स्टेशन बनाउन चाहे नि:शुल्क जडान गरिदिने सहमति भएको घिसिङले बताए ।

विद्युत् खपत बढाउन विद्युत् विस्तार र औद्योगिक क्षेत्र एवं उद्योगहरुको माग अनुसार वितरण गर्ने प्रक्रियासमेत बढाइएको छ । रुपन्देहीको भैरहवा धकधइ, नवलपरासीको परासी र सुनवल क्षेत्रमा विद्युत्‌को माग बढेको घिसिङले बताए । ‘उद्योग निरीक्षण गर्ने प्रयोगको अवस्था हेर्ने र माग अनुसार विद्यत् उपलब्ध गराउने काममा खटेका छौं,’ उनले भने, ‘बुटवल मैनहिया १३२ केभी प्रसारण लाइन सकिएपछि भैरहवा, लुम्बिनी क्षेत्रमा समेत माग अनुसार विद्यत् दिइनेछ।’ विद्युत् खपत बढाउन रुपन्देहीको मैनहियाबाट भारतको उत्तरप्रदेश जोड्न सम्पतिया १३२ केभी लाइन विस्तार थालेको उनले बताए ।

हाल देशभरमा २ हजार १ सय मेघावाट विद्युत् उत्पादन भइरहेको छ । आउँदो वर्ष ५ सय मेघावाट हुँदै त्यसपछिका वर्षमा हरेक वर्ष १ हजार मेघावाट विद्यत् थपिँदै जानेछ । हाल सुख्खा मौसम बाहेकमा देशकै विद्यत्‌ले पग्ने गरेको छ । यसवर्ष मंसिर अन्तिम साता वा पुसबाट केही विद्युत् आयात गर्नु परेपनि आगामी वर्षदेखि सुख्खा मौसममा पनि विद्युत् आयात गर्न नपर्ने निर्देशक घिसिङले बताए ।

विद्युत् प्राधिकरणले हाल त्रिशूली र देवघाटको २० मेघावाट विद्युत् दैनिक अनलाइनमार्फत बेच्दै आएको छ । कोसी र मर्स्याङदीको समेत अनलाईन बिक्रीको तयारी भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *