मोदी , पर्वत ।
मुक्तिनाथ केवलकार आयोजना अगाडि बढ्ने भएको छ । कम्पनीले परियोजना विकासका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको हो । उक्त केवलकार परियोजनाले चार जिल्लालाई जोड्ने छ। कास्कीको अन्नपूर्ण गाउँपालिका, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको मोदी गाउँपालिका र मुस्ताङको घरापझोंग, थासाङ र बह्रागउँ मुक्तिक्षेत्र गाउँपालिकामा मुक्तिनाथ दर्शन प्रालिले केवलकार परियोजना सञ्चालन गर्न लागेकाे हाे ।
कम्पनीले उक्त परियोजनाले प्रभाव पार्ने स्थानीयसँग अन्तक्रिया गर्ने भएको छ । जेठ ११ देखि जेठ १७ गतेसम्म प्रभावित गाउँपालिकाका बासिन्दासँग छलफल हुनेछ ।
कालीगण्डकी नदी र मोदी नदीको जलाधार क्षेत्र हुँदै जाने आयोजना पर्वतको शेराफाँटबाट सुरु हुने छ। मुक्तिनाथ मन्दिरनेरको रानीपौवासम्म केवलकार सञ्चालन हुने छ। आयोजना विश्वकै सबैभन्दा लामो परियोजनाका रुपमा डिजाइन गरिएको जनाइएको छ । आयोजनाले १७७.३८२ हेक्टर वन क्षेत्र प्रयोग गर्छ ।
विश्वकै लामो केवलकार परियोजनाका लागि ४५ अर्ब वित्तीय लगानी हुने र १० अर्ब कम्पनीको लगानी रहने वरिष्ठ जनसम्पर्क अधिकृत नविककुमार शाहीले जानकारी दिए। झन्डै ८० दशमलव १५ किलोमिटर लामो केवलकार ४३ महिनामा सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ।
केवलकार सञ्चालनमा आएमा वार्षिक ३५ लाख पर्यटकले यात्रा गर्ने कम्पनीको अनुमान छ। उक्त केवलकार परियोजनालाई गण्डकी प्रदेशकै पर्यटकीय लाइफलाइन मानिएको छ ।
