पर्वत ।
यात्रा साहित्यसँग सम्बन्धित कार्यक्रम ‘अक्षरयात्रा’को द्विशतक शृंखला पर्वतको कुस्मास्थित शताब्दी घरमा शनिबार सम्पन्न भएको छ। गजलसन्ध्या र नवनीत साहित्य सागरले २०६२ असार १८ देखि निरन्तर सञ्चालन गरिरहेको उक्त कार्यक्रम यसपटक कुस्माको शताब्दी घरमा गरिएको हो।
कालीगण्डकी बचाऔँ अभियान एवं कुस्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरके अदीप्त गिरीकाे निमन्त्रणा तथा स्थानीय आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रसिद्धि कवि तीर्थ श्रेष्ठले कालीगण्डकी र आफ्नो जीवनका बिचमा प्रगाढ सम्बन्ध छ भन्दै आफ्नी प्रातः स्मरणीय माताको सम्झना गर्नुभयो । अभियन्ता आरके अदीप्त गिरी कालीगण्डकीको संरक्षण र नेपाली वास्तुकलाको संरक्षणमा एक्लै सतिसाल झैँ उभिएको कुराको प्रशंसा गर्दै राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिले गर्नु ठुलो आँट र साहस रहेको विचार व्यक्त गर्नुभयो । कला र संस्कृतिले देश र समाजको आवाजलाई बोल्नु पर्ने विचार श्रेष्ठको थियो । श्रेष्ठले कालीगण्डकी, शालिग्राम र शताब्दी घरलाई जोडेर काव्य वाचन समेत गर्नु भएको थियो ।
घायल, सागर उदास, रीता अधिकारी ऋतु, अमृत क्षेत्री, घायलश्री, लक्ष्मण विश्वकर्मा, श्रीराम अधिकारी गोर्जे, ठाकुर रसाइली, सावित्री गिरी, रोशन तिमिल्सिना, छन्दमणि त्रिपाठी, लगायतले कालीगण्डकी र शताब्दी घरकै सेरोफेरोमा रहेर स्थानीय रूपमा सिर्जना गरिएका कविता, मुक्तक, गीत र गजल सुनाएका थिए ।
आयोजक संस्थाका अध्यक्ष आरकेअदीप्त गिरीले परिवर्तन र विकासको नाममा मौलिक परम्परा, संस्कार, संस्कृति र रीतिस्थित बिर्सिरहेकाे बताउनु भयो । उहाँले विकासका नाममा मानव ज्ञानमाथिको अतिक्रमण बन्द गरी ऐतिहासिक धरोहरहरूको जीर्णोद्धार गरी संरक्षण–संवर्दन गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा प्रसिद्ध लोक गायिका हरिदेवी कोइरालाले आफूले जीवनमा तीन सय वर्षभन्दा पुरानो घरको तेस्रो तलामा बसेर यस्तो साहित्यिक कार्यक्रममा पहिलो चोटी भाग लिन पाएकोमा फरक अनुभूति भएको बताउँदै कालीगण्डकीमा समर्पित केही गीत र असारे भाका सुनाउनु भयो । त्यसैगरी साहित्यकार शान्तिनारायण श्रेष्ठ, प्राज्ञ सरस्वती श्रेष्ठ सरु, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप, अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक संघ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, गनेश पौडेल, सन्जीव पौडेलले आआफ्ना धारणा सहित रचना वाचन गर्नु भएको थियो ।
शताब्दी घर तथा कुस्मा कला परियोजना, पर्वतका अध्यक्ष आरके अदीप्त गिरी र गजल सन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा सञ्चालित कार्यक्रममा साहित्यकार एवम् रङ्गकर्मी प्राञ्जलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।