पूर्वी नवलपरासी ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारले शिक्षामा आवश्यकता अनुसारको लगानी गर्न नसकेको बताएका छन् ।
संविधानमा शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरिएपनि केन्द्र सरकारले नै आवश्यकता अनुसारको लगानी गर्न नसकेका कारण अपेक्षित प्रतिफल हुन नसकेको उनले सुनाए । पूर्वी नवलपरासीको गैंडाकोटमा बिहीबार सम्पन्न शिक्षा समाज नेपालको चौथो साधारण सभामा बोल्दै पोखरेलले उक्त कुरा बताएका हुन् ।
उनले केन्द्र सरकारले शिक्षा ऐन बनाउन ढिलाई गरेको चर्चा गर्दै शिक्षा क्षेत्रमा रहेको उमेर हद पनि नमिलेको भन्दै त्यसलाई सच्याउन पर्ने बताए ।
पोखरेलले उमेरहदको केके कुरा नमिलेको हो र त्यसले के अफ्ठयारो पारेको भन्ने खुलाएनन् । केन्द्र सरकारले शिक्षा ऐन ल्याउन ढिलाई गरेकाले अन्योल भएको उनले सुनाए । केन्द्रले शिक्षा ऐन ल्याउन ढिलाई गरे प्रदेश सरकारले ऐन ल्याएर कार्यान्वयन गर्ने चेतावनी दिए ।