पर्वत ।
मोदी गाँउपालिकाको आयोजनामा “मर्यादित सहकारी :सम्मुन्नत समाज” भन्ने नाराका साथ ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभात फेरी तथा सहकारी विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मोदी गाँउपालिकाका अध्यक्ष हिरादेवी शर्माले राज्यको तीन खम्बे अर्थ नीति मध्ये सहकारीलाई एक खम्बाको रुपमा लिएको र सहकारीले विषेशत् गरिबी निवारणको क्षेत्रमा काम गरिरहेको बताउदै सहकारीको सुशासनमा रहि काम गर्दा सहकारी क्षेत्रको विकासले गति लिने बताउनुभयो ।
मोदी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले सहकारी प्रणालीलाई यसको मर्म, भावना र सिद्धान्त अनुसार सञ्चालन गर्न सके आर्थिक समृद्धिसँगै सामाजिक रुपान्तरणमा योगदान पुग्ने बताउनुभयो साथै सहकारीहरूको प्रवद्र्धन गर्न पालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
मोदी दिप सहकारीका अध्यक्ष ठक्कर प्रसाद शर्मा र मोदी खोला सहकारीका पूर्व अध्यक्ष गंगा तिमिल्सिनाले सहकारीमा आएका विभिन्न चुनौतीहरुलाई समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि गाँउपालिकाले सहयोग गर्नुपर्ने बताउनुभयो।
प्रभात फेरी तथा सहकारी विकास सम्बन्धी अर्न्तक्रिया कार्यक्रममा सहकारीका अध्यक्ष एंव संचालक,शेयर सदस्य,सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुहको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मोदी गाँउपालिका अध्यक्षको सचिवालय कर्मचारी शान्ती सुबेदीले गर्नुभएको थियो ।