सुरुङको पानी सडकमा, आवतजावत नै अवरुद्ध

मोदी, पर्वत।

जिल्लाको मोदी गाउँ पालिका वडा नंं १ र २ मा रहेको मिडल मोदी जलविद्युत केन्द्रको लापरबाहीको कारण स्थानीय बासिन्दाहरू आक्रोशित बनेका छन् ।

वर्षाको समयमा जलविद्युत केन्द्रको सुरुङ मार्ग हुँदै ल्याइएको पानी पावर हाउस नजिकैबाट ओभर फ्लो बाहिर फाल्दा बेतेनी मख सडक अवरुद्ध हुन थालेको हो ।  जलविद्युत केन्द्रले बनाएको नाली सानो भएको र पानीको बहाव निकै ठूलो भएको हुँदा समस्या उत्पन्न भएको स्थानीयहरुको गुनासो रहेको छ ।

जलविद्युत केन्द्र सम्म पुग्ने सडक पक्की बनाउने भनिएको भए पनि आयोजना सम्पन्न भै सक्दा समेत कुनै कार्य अगाडि नबढेको बरु उल्टै पुरानो सडक समेत प्रयोग गर्नै नसक्ने अवस्थामा पुगेको सरोकार समितिका एक सदस्यले बताए । उनले भने – ” हामीले पटक पटक सडक निर्माण तथा मर्मत काे लागि अनुरोध गर्यौ तर सुनुवाई भएन ।”

सडक अवरुद्ध हुँदा बिरामी लिएर अस्पताल पुर्याउन समेत कठिनाई भएको स्थानीय रुद्र अधिकारीले बताए । उनले भने – ” ठेकेदारले समयमै काम नगर्दा अर्को बाटो प्रयोग गर्न सकिएको छैन । यो बाटोकाे हालत यस्तो छ । अब कसरी बिरामीलाई अस्पताल लैजाने । यो समस्याको छिट्टै समाधान खोजियोस् ।”

पटक पटक स्थानीयका समस्याहरू समाधानका लागि अनुरोध गर्दा आयोजनाले बेवास्ता गर्ने गरेको गुनासो गर्दै तत्काल समस्या समाधानको निम्ति पहल गरी दिन स्थानीय जन प्रतिनिधि र प्रशासन समक्ष उनीहरूले आग्रह गरेका छन् । समस्याको हल नभए आन्दोलनमा उत्रिनुको विकल्प नरहेको एक स्थानीयले बताए ।स्थानियको गुनासोको सम्बन्धमा आयोजनासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

मिडिल मोदी जलविद्युत् आयोजना चौधरी ग्रुपकाे लगानीमा बनेको पहिलो आयोजना हो । आयोजनाको सम्पूर्ण काम पूरा भएर नियमित उत्पादन भई रहेको छ ।

१८ मेगावाट क्षमताको यस आयोजनाकाे पावर हाउस मोदी २ सिमखेतमा रहेको छ भने बाँध मोदी १ र कास्कीको अन्नपूर्ण गाउँपालिका–३ बीरेठाँटीमा रहेको छ । यस आयोजनामा दुई हजार तीन सय ९३ मिटर लामो सुरुङमार्फत् मोदी खोलाको पानी खसालिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *