बागलुङ।
विद्यालयको चौरभरी समुहमा विद्यार्थी बसेका छन् । झट्ट हेर्दा कुनै एक विषयमा भएको समुह कार्यजस्तो देखिन्छ । प्रत्येक समुहमा एक–एक जना शिक्षक छन् । कक्षा कोठा खाली छन् । यस्तो दृश्य देख्न पाईन्छ ढोरपाटन नगरपालिका–९ को ज्योति विकास आधारभुत विद्यालयमा । ढोरपाटन उपत्यकामा चिसो मौसम सुरु भएपछि जाडो छल्न चौरमा बसेर शैक्षिक क्रियाकलप सञ्चालन गरिएको हो ।
हरेक दिनको प्राथना सकिएपछि विद्यार्थीहरु विद्यालयको चौरमा आफ्नो कक्षा अनुसारको समुह बनाएर चौरमा बस्छन् । कक्षा शिक्षकको विद्यार्थीको बसाइँअनुसार चौरमै सेतो पाटी राखेर, नियमित कक्षा सञ्चालन गर्ने विद्यालयका प्रधानध्यापक चकबहादुर अदैले जानकारी दिनुभयो ।
चिसो भुई र शितको पानी चुहिने टिनको छानामुनी बस्नै नसक्ने अवस्था रहेको विद्यार्थी कमल विकले बताउनुभयो । ‘पहिलो घन्टीमा कक्षाभित्र बस्नै कठिन छ’ उहाँले भन्नुभयो, ‘रातभरको तुसारो पग्लिने समय हुँदा कितावभरी बेन्चमा पानी पर्छ ।’ कात्तिकदेखि पुसको दोस्रो हप्तासम्म चौरमा पठनपाठन हुने शिक्षक श्याम विकले बताउनुभयो ।
ढोरपाटन उपत्यकाको हावा बहने स्थानमा विद्यालय भएको हुँदा चिसो हावा निरन्तर चल्छ । चौरमा बसेर पढ्दा जाडोले विद्यार्थीको ध्यान केन्द्रीत गर्न कठिन छ । पढाईभन्दा पनि चिसोबाट कसरी बच्ने भन्नेमा विद्यार्थी बढी केन्द्रीत हुने प्रधानध्यापक अदैले बताउनुभयो ।