काठमाण्डौ ।
न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार राति भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराएको हो ।
भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८ ओभर ५ बलमा ३ सय २७ रनमा अलआउट भयो । न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए । उनी १ सय ३४ रन बनाएर आउट भए । यस्तै कप्तान केन विलियमसनले ६९ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ७ विकेट लिए ।
यसअघि मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायाे ।
भारतका विराट काेहली र श्रेयस अय्यरले शतक बनाए । काेहली १ सय १३ बलमा १ सय १७ र अय्यर ७० बलमा १ सय ५ रन बनाएर आउट भए । यस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान राेहित शर्माले २९ बलमा ४७ र केएल राहुलले २० बलमा ३९ रन जाेडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए ।
अब भारत अस्ट्रेलिया र साउथ अफ्रिका बीच आज हुने सेमिफाइनलकाे विजेता सँग फाइनल खेल खेल्ने छ । उक्त फाइनल खेल मंसिर २ गते हुने छ ।
विराट कोहलीको कीर्तिमानी शतक
उक्त खेलमा भारतीय क्रिकेटर विराट कोहलीले वानडे त्रिकेटको आफ्नो ५०औं शतक पूरा गरेर किर्तिमान कायम गरे ।
उनी वान डे क्रिकेटको इतिहासमा ५० शतक बनाउने पहिलो ब्याटर बने । उनले यसक्रममा सचिन तेन्दुलकरको नाममा रहेको ४९ वान डे शतकको कीर्तिमानलाई उछिने ।