पर्वतको धार्मिक एवम् पर्यटकीयस्थल कालाञ्जर क्षेत्र हम्पालमा विजुली पुग्यो

पर्वत ।

जिल्लाको धार्मिक एवम् पर्यटकीय स्थल कालाञ्जर क्षेत्रको हम्पाल लेकमा विजुली पुगेको छ । जिल्लाको सबैभन्दा उच्च ठाउँमा रहेकाे जलजला गाउँपालिका–५ र ६ तथा मोदी गाउँ पालिका ३ र ४ को सिमानामा रहेको हम्पालमा हिजाे विद्युत् जडान भएको हो ।

जलजला र मोदी गाउँपालिकाको संयुक्त लगानी तथा नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रको प्राविधिक सहयोगमा विद्युत् जडान गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । हम्पाल क्षेत्रको अन्य भागमा पनि विद्युतीकरण भइरहेको उहाँले बताउनुभयो ।

समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा रहेकाे कालञ्जर हम्पाल क्षेत्र धार्मिक एवम् प्राकृतिक रूपमा सुन्दर पर्यटकीयस्थलको रूपमा परिचित छ । पछिल्लो समय यहाँ पर्यटन पूर्वाधारसमेत निर्माण गर्न थालिएको छ । हम्पाल क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सङ्घीय, प्रदेश र गाउँपालिकाले संयुक्त रूपमा पूर्वाधार निर्माण थालेका हुन् ।

पर्यटकका लागि आश्रयस्थल, भ्यु प्वाइन्ट, खानेपानी, शौचालय निर्माण र सडक स्तरोन्नति गरिएको हो । विद्युत् सुविधा पुगेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुने यहाँ होटल सञ्चालन गर्दै आउनुभएका टीकाबहादुर पुनले बताउनुभयो । ‘विद्युत नहुँदा पर्यटक बास बस्न मान्दैन थिए, अब हम्पालमै पर्यटकलाई बास राख्न सकिन्छ’, उहाँले भन्नुभयो ।

हम्पाल र जलजलालाई पर्यटकीयस्थलका रूपमा विकास गर्न झन्डै एक अर्ब रुपैयाँ लागत अनुमानको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले हम्पाल लेकमा भ्यु प्वाइन्ट, शौचालय, सन्त बस्ने कुटी निर्माण गरेको थियो । सङ्घ र प्रदेशबाट विनियोजित २०/२० लाख रूपैयाँबाट यी पूर्वाधार निर्माण भएका हुन् ।

यसैगरी गएकाे आर्थिक वर्षमा निर्माणधीन भवन बनाउन गाउँपालिकाबाट १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरी भवनलाई पूर्णता दिइएको पालिकाका इन्जिनियर सुनिल बाँनियाले जानकारी दिनुभयो ।

यहाँबाट हिमशृङ्खला, सूर्योदय, सूर्यास्त र मनोरम पहाडी भूगोलको अवलोकन गर्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण, निलगिरि, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लुलगायत १६ भन्दा बढी हिमालका साथै पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङसम्मको भूगोल अवलोकन गर्न सकिन्छ ।

यस क्षेत्रमा नीरमसी, पाँचऔँले सतुवालगायत बहुमूल्य जडीबुटीका साथै कालो मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षी पाइन्छ । लालीगुराँसको जङ्गल रहेको हम्पालमा ठूलो मैदान छ । त्यही मैदान सम्याएर तलाउ बनाउने योजना गाउँपालिकाको छ । मोदी गाउँपालिकाले पनि यहाँ पदमार्ग र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *