पर्वत ।
मोदी गाउँ पालिकाको वडा नं २ र ३ देउपुर देउरालीमा संचालित देउराली-देउपुर टुहुरे घट्टे खोला खानेपानी योजना निर्माण सम्पन्न भएको छ । एकघर एक धारा निर्माण सम्पन्न भई २१३ धारामा व्यवस्थित सफा,शुद्ध र अत्याधुनिक प्रविधि युक्त खानेपानी योजना कादुरी अफिस पोखराको सहयोगमा निर्माण सम्पन्न भएको हो ।
खानेपानी योजनाको शुक्रबार कादुरी अफिस पोखराका डाईरेक्टर कर्नेल एण्ड्रु मिल्सले कोट कालिका मन्दिर परिसरमा आयोजित एक समारोहका बीच समुद्घाटन गर्नु भएको थियो ।
सो कार्यक्रममा कादुरी अफिस पोखराका एसिष्टेन्ट ट्रेनिङ डाईरेक्टर प्रेमकुमार गुरुङ, वडाका जनप्रतिनिधिहरु,
खानेपानी समितिका पदाधिकारी ,जोगिथुम गुरुङ समाज पोखराका पदाधिकारी ,आमा समूह ,युवाक्लव, नौमतीबाजा ,भजन समूह ,शिक्षक ,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
एक करोड उन्पचास लाख पैसठ्ठी हजारको लागतमा निर्माण सम्पन्न भएको योजनामा कादुरी अफिस पोखराको तर्फ बाट १ करोड तीस लाख ६५ हजार खर्च भएको छ भने स्थानीय उपभोक्ताले १९ लाख बराबरको जनश्रमदान गरेका छन् । योजनाबाट २ सय चौध घर परिवारका एक हजार चौबीस जनसंख्या लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष ठोक बहादुर खड्काले जानकारी दिनु भयो ।