मोदी (पर्वत) ।
पातीचौर बजार देखि करिब सय मिटर पश्चिमतर्फ पातीखोला सुसाइरहेको छ । नहर कलकल गर्दै आडैबाट बगिरहेको छ । पक्की सडकको दायाँतर्फ नहरमुनि छोडिएको धर्मशाला जस्तै देखिने संरचनाले त्यो बाटो भएर हिड्ने जो कोहीलाई गिज्याइरहेको हुन्छ । मसानघाटमा भेटिएको अस्थिपंजर जस्तै खिया लागेका रडहरु ठिङ्ग ठडिएका छन् । भवनभित्र वनमारा फैलिएको छ । भवनभित्र काठ, दाउरा, पराल यत्रतत्र फालिएको छ । भित्ताहरु कुरुप देखिन्छन् ।

भवनको छेवैमा बैशाखी टेकेर टोलाइरहेका छन् माेदी २ पातिचाैरका ६० बर्षीय खिम बहादुर हमाल । विगत आठ बर्षदेखि अलपत्र अबस्थामा रहेको यही भवन आज उनको टाउको दुखाइको विषय बनेको छ । आफ्नै घर आँगनमा चिस्यान केन्द्र बन्ने कुरा सुनेर उत्साहित हुँदै गाई गोठ समेत सारेर निर्माण समितिलाई जग्गा दिने सहमति गरेका खिम बहादुुरले अहिलेसम्म न कुनै पैसा पाए न आफ्नै जग्गा उपभोग गर्न पाएका छन् ।
आर्थिक वर्ष ०७३/७४ मा स्टिमेट गरी मोदी गाउँपालिकाको वडा नं २ देउपुर जरुवामा चिस्यान केन्द्र निर्माण सुरु गरिएको थियो । मोदी गाउँपालिकाका कृषकले उत्पादन गरेका तरकारी र फलफूल भण्डारणको लागि पाँच करोडको योजना अनुसार चिस्यान केन्द्र भवन निर्माण कार्य शुरु गरिएको हो । तत्कालिन जिल्ला विकास समिति मार्फत ५० लाख रकम बिनियोजन भएकोमा २० लाख ३३ हजार रुपैयाँ मात्र निकासा भएको थियो । भवन निर्माण समितिले मोदी २ देउपुरका खिमबहादुर हमालसँग १३ लाख ५० हजारमा पाँच आना जग्गा खरिद गर्ने सम्झौता गरेको थियो । तर सम्झौता अनुसारको रकम निर्माण समितिले भुक्तानी गर्न नसकेपछि लाखौं खर्चिएको भवन अहिलेसम्म पनि व्यक्तिकै नाममा रहेको छ ।

जग्गाधनी हमाल भन्छन् – ” चिस्यान केन्द्रलाई जग्गादिनकै लागि ५० हजार खर्चिएर गाई गोठ सारेँ । तत्कालिन अवस्थाको मूल्य अनुसार सम्झौता गरेँ । यतिका बर्ष बितिसक्दा पनि कुनै सुनुवाई भएन । अलपत्र भवनलाई मोदी खोला कृषि सहकारीले जिम्मा लिएर निर्माण गरी संचालन गर्ने कुरा पनि भएको थियो तर त्यो पनि रोकियोे । कि त गाउँ पालिकाले जिम्मा लिएर संचालन गर्नु पर्यो नत्र मैले जग्गा उपभोग र बिक्री वितरण गर्न पाउनु पर्यो । नहरको आडैमा रहेको बर्षको तीन खेति हुने मेरो खेतको आठ बर्ष सम्मको उब्जनीको क्षतिपूर्ति कसले दिने हो ? टुङ्गो लगाइदिनु पर्यो । ” समस्या समाधानको लागि निबेदन लिएर गाउँ पालिका जाँदा निबेदन नै दर्ता नगरिदिएको हमालले गुनासो गरे ।
हमाल विगत एक वर्ष देखि शारीरिक रुपले अशक्त छन् । बैशाखीको सहारामा घरभित्र सामान्य हिँडडुल गर्छन् । बिमारकै कारण उपचारमा ठूलो धनराशी खर्चिनु परेको उनी बताउँछन् । उनी भन्छन् – ” राजनीतिक दल, जनप्रतिनिधि सबैसँग हार गुहार गरेँे तर समस्या ज्यूँका त्यूँ रह्यो । कसैले वास्ता गरेनन् । म अहिले यस्तो अशक्त अबस्थामा छु । मेरो गुनासो समेत सुन्न कोही तयार भएनन् । राज्यको लगानीको यो अलपत्र अबस्था टुलुटुलु हेरेर कतिदिन बस्ने ? ” आफू अब कानुनी प्रक्रियाको लागि अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए ।
योजना अुनसार पचास टन क्षमताको दुई तले चिस्यानकेन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य रहेको थियो । लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलान गरेर छोडिएको निर्माण समितिकी अध्यक्ष गंगा कुमारी तिमिल्सिनाले बताउनु भयो । तिमिल्सिनाले भन्नुभयो – ” भवन पूरा गर्नका लागि धेरै प्रयास गर्यौ । स्थानीय तह देखि केन्द्रसम्म बजेटको लागि अनुरोध गर्यौ । पछि बजेट पनि परयो । सहकारीमार्फत संचालन गर्ने प्रयास पनि गर्यौँ । तर जग्गा खरिदमा सहमति हुन नसक्दा काम अगाडि बढ्न सकेन ।
मोदी २ देउपुरका तत्कालिन वडाध्यक्ष विकास तिमिल्सिना भन्छन् – ” चिस्यान केन्द्र निर्माणका लागि गाउँपालिका, प्रदेश र केन्द्रसम्म अनुरोध गर्यौँ । भवन निर्माणको लागि गाउँपालिकाबाट थप बजेटको व्यवस्था पनि भएको थियो । जग्गा व्यवस्थापनको लागि वडाबाट पन्ध्र लाख रुपैयाँ विनियोजन पनि गर्यौ तर जग्गा खरिदमा सहमति हुन नसक्दा काम अगाडि बढ्न सकेन । ”
वर्तमान वडाध्यक्ष बेलबहादुर कार्कीले पनि उक्त स्थानमा चिस्यान केन्द्र निर्माणको लागि जग्गा खरिद गर्न प्रक्रियागत समस्या रहेको बताए । ” जग्गा खरिदको लागि अहिले कुनै पनि शीर्षकबाट रकम विनियोजन गर्न नसक्ने अबस्था छ ।” वडाध्यक्ष कार्कीले भने । जग्गा बिबादकै कारण चिस्यान केन्द्र निर्माणको कार्य अलपत्र परेपछि सार्वजनिक जग्गाको खोजी गरी निर्माण कार्य अगाडि बढाउने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।
कृषि तथा दुग्ध उत्पादन बिक्री वितरण गर्दै आइरहेको मोदी खोला सहकारी संस्थाका अध्यक्ष बेदप्रसाद तिमिल्सिनाले गाउँ पालिकाले सहजीकरण गरी भवन प्रयोगमा ल्याउने वातावरण तयार गरी दिने हो भने सहकारीले थप लगानी गरी संचालन गर्न सक्ने बताउँछन् । चिस्यान केन्द्र अलपत्र परेकोमा चिन्ता व्यक्त गर्दै उनी भन्छन् – ” राज्यको लाखौँ रकम यसरी खेर जान दिनु भन्दा जग्गाको समस्या समाधान गरी उपयुक्त निकास निकाल्न तर्फ गाउँ पालिकाले उचित पहल गर्नु पर्दछ । ”
मोदीको देउपुर सुन्तलाको पकेट क्षेत्र हो । यहाँ बर्सेनि ३ करोड भन्दा बढीको सुन्तला उत्पादन हुन्छ । क्याङ र लेस्पार आलु उत्पादनको लागि उर्वर भूमि हो । यहाँको आलु तरकारी र बीउको रुपमा स्थानीय बजार लगायत सदरमुकाम कुस्मा र पोखरा सम्म पुग्छ । मोदीका धेरै क्षेत्रहरुमा तरकारी उत्पादन हुन्छ । तरकारीले उचित मूल्य पाउन सकिरहेको छैन । यहाँको दूध कुस्मा देखि नागडाँडा सम्म पुर्याएर बिक्री गर्ने गरिएको छ भने यहाँ उत्पादित रेन्बो ट्राउट माछाहरु देशका प्रमुख शहरहरुमा पुर्याइने गरिएको छ ।
आफ्ना हरेक बर्षका बजेटहरुमा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको गाउँ पालिकाले आठ बर्ष सम्म अलपत्र अबस्थामा रहेको चिस्यान केन्द्र भवनको समस्या समाधानका लागि सरोकारवालाहरुको छलफलबाट उचित निकास निकाल्नु पर्ने स्थानीय कृषकहरु बताउँछन् । प्रक्रियागत कमजारीकै कारण सिर्जना हुने यस्ता समस्या समाधानका लागि राजनीतिक नेतृत्वले चासो दिनुपर्ने किसानहरूको माग रहेको छ ।