पोखरा ।
पोखरा महानगरपालिकाले पहिलो पटक फूलको मूल्य तोकेको छ । तिहारको समयमा यसअघि मनपरी मूल्य लिएर उपभोक्ता ठगीमा परेको गुनासो आएपछि महानगरले यो वर्ष सरकारी मूल्य तोकिदिएको हो ।
कृषि महाशाखा प्रमुख मनहर कडरिायाका अनुसार यो वर्ष फूलको तौल अनुसार फरक मूल्य छ । ५ देखि १० ग्रामको एउटा थुंगालाई २ रुपैयाँ मूल्य तोकिएको छ । १० देखि १५ ग्रामको ४ रुपैयाँ तथा १५ देखि २० ग्रामको ५ रुपैयाँ मूल्य छ । मालाको पनि फूलको थुंगाको आकार अनुसार क्रमशः १ सय ५०, १ सय ८० र २ सय मूल्य तोकिएको छ ।
किलोमा बेच्न चाहे प्रतिकिलो ४ सय रुपैयाँ मूल्य पर्ने महानगरले जनाएको छ । यो वर्ष महानगर आफैले पनि फूल खेतीमा किसानलाई प्रोत्साहन गरेको छ । डेढसय रोपनी क्षेत्रफलमा महानगरको सहुलियत बीऊ लिएर किसानले व्यावसायिक खेती गरेका छन् ।