पर्वत ।
गण्डकी प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रमको लागि पर्वतबाट शिक्षक र विद्यार्थीको छनोट गरिएको छ ।
जिल्लाका सात वटा स्थानीय तहहरुका शिक्षक विद्यार्थी बीच जिल्ला स्तरमा शनिवार प्रतिस्पर्धा गराएर प्रतिस्पर्धीहरूको टुङ्गो लगाइएको हो ।
फरक फरक चार विधामा भएका प्रतिस्पर्धामा प्रथम स्थानमा आएकाहरू प्रदेश स्तरमा आयोजना हुने ‘शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान तथा प्रोत्साहन पुरस्कार’ कार्यक्रममा अन्य १० जिल्लाका सहभागीहरूसँग प्रतिस्पर्धा गर्ने छन् ।
शिक्षक तर्फको वक्तृत्वकलामा राष्ट्रिय बाल शिक्षा सदन अङ्ग्रेजी आवासीय मा.वि.का सहायक प्रधानाध्यापक प्रकाश आचार्य प्रथम, पशुपति माध्यमिक विद्यालय राम्जाका शिक्षक कमल शर्मा तिमिल्सिना द्धितिय र जनता माध्यमिक विद्यालय फलेवासकी इन्दिरा तिवारी तृतीय भएका छन् ।
त्यसै गरी विद्यार्थीतर्फको वक्तृत्वकला प्रतियोगितामा नमुना अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय कुश्माकी निशा आचार्य प्रथम, जनकल्याण माध्यमिक विद्यालय बाच्छाकी अस्मिता क्षेत्री द्धितिय र नवजागृत माध्यमिक विद्यालय तिलाहारकी रोशनी बि.क तृतीय बनेका छन् ।
शिक्षकतर्फको नृत्य प्रतियोगितामा मोदी गाउँपालिका प्रथम र कुश्मा नगरपालिका दोस्रो भएका छन् भने विद्यार्थी नृत्यतर्फ कुश्मा नगरपालिकाको नारायण माध्यमिक विद्यालय प्रथम, मोदी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय द्धितिय र फलेवास नगरपालिकाको शिशु निकेतन विद्यालय तृतीय बनेका छन् ।
प्रतियोगितामा नृत्य र वक्तृत्वकलामा प्रथम बनेका समूहले नगद १०/१० हजार, द्धितिय बनेका समूहले ८/८ हजार र तृतीय बनेका समूहले नगद ६/६ हजार रुपैयाँ सहित प्रमाण पत्र पाएका छन् ।
वक्तृत्वकला अन्तर्गत विद्यार्थीका लागि ‘समावेशी सीपमूलक शिक्षा, स्वदेशमा युवा राष्ट्रको इच्छा’ शीर्षक राखिएको छ भने शिक्षकका लागि ‘म विद्यार्थीका लागि, विद्यार्थी मेरा लागि’ शीर्षक दिइएको छ ।
वक्तृत्वकलातर्फ जिल्लामा प्रथम बनेका शिक्षक र विद्यार्थीले आउँदो पुस २७ गते पोखरामा हुने वक्तृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । यस्तै नृत्यतर्फ प्रथम बनेका शिक्षक र विद्यार्थीले पुस २८ मा पोखरामा नै हुने नृत्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
वक्तित्वकला प्रथम, द्धितिय र तृतीय बन्नेहरूले क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ तथा नृत्यतर्फ प्रथम, द्धितिय र तृतीय बन्नेहरूले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।