करिब ४२ लाखको लागतमा लिस्तुन खोलामा बन्यो झोलुङ्गे पुल , गाउँपालिका अध्यक्ष शर्माद्वारा उद्घाटन

पर्वत ।

पर्वतका मोदी गाउँपालिका वडा नं. ४ र वडा नं. ५ लाई जोड्ने लिस्तुनखोलामा बनेको झोलुङ्गे पुलको समुद्घाटन समारोह सम्पन्न भएको छ ।

मङ्गलवार पुल निर्माण स्थलमा आयोजना गरिएको एक कार्यक्रमकाबीच मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले पुलको उद्घाटन गर्नुभएको हो । पुलको उद्घाटन गर्दै उहाँले पुल बनेसँगै अब जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । लामो समयदेखि उक्त स्थानमा पुलको आवश्यकता रहेकोमा हालै भए पनि पुल निर्माण भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

पुलको निर्माण लिस्तुनखोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिको समन्वयमा गरिएको हो । उक्त पुलको कुल लागत ४१ लाख ५७ हजार पाँच सय २१ रुपैयाँ रहेको छ । यसमध्ये मोदी गाउँपालिकाबाट पाँच लाख ८३ हजार तीन सय ४० रुपैयाँ, कार्यक्रम नेपालबाट ३५ लाख ६६ हजार तीन सय ८२ रुपैयाँ र उपभोक्ताबाट श्रमदानमार्फत ७८ हजार बढीको लगानीमा ३७ मिटर लम्बाइको पुल निर्माण भएको हो ।

चाम बहादुर पुनको अध्यक्षतामा रहेको निर्माण उपभोक्ता समितिको सचिवमा तीर्थ बहादुर पुन, कोषाध्यक्षमा सरस्वती देवकोटा तिमिल्सीना तथा सदस्यहरूमा गोरे बहादुर गुरुङ, प्रतिमा गुरुङ, शारदा न्यौपाने, कुसुमाया पुन, मदी फगामी, कर्ण बहादुर क्षेत्री रहनुभएको छ ।

पुलको निर्माणले स्थानीय बासिन्दाहरूको दैनिक आवागमन सहज बनाउनुका साथै सामाजिक तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । पुलको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति, सहयोगी संस्थाका प्रतिनिधिहरू र स्थानीय बासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *