पर्वत।
आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनका रुपमा जन्मदिने आमाप्रति श्रद्धा व्यक्त गरी मनाइँदैछ । मातातीर्थ औंसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा आफ्नी आमालाई विभिन्न उपहारसहित नयाँ लुगा लगाइदिने, मीठामीठा र तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरुले दिवङ्गत आमाको नाममा श्राद्ध गरी स्मरण गर्ने गर्दछन् । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ । मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । आमा नहुनेहरुले आज आमाको सम्झनामा श्राद्ध गर्ने प्रचलन छ । नेपाली हिन्दूहरुले वैशाख कृष्ण औँशी आमाको मुख हेर्ने र भाद्र कृष्ण औँसी बुवाको मुख हेर्ने पर्वका रुपमा मनाउने चलन छ ।