अश्वत्थमेकम् पिचुमन्दमेकं
न्यग्रोधमेकन् दश चिञ्चिणीकान् ।
कपित्थबिल्वाऽऽमलकत्रयञ्च
पञ्चाऽऽम्रमुप्त्वा नरकन्न पश्येत्।।
…
कुश्मामा यौटा पनि सार्वजनिक बगैंचा नहुनु बिड्म्बना हो । बगैंचा, रुख बिरुवा सहरी सौन्दर्यको प्रतिक हो । कुश्मा बजारको बढ्दो भौतिक संरचना र खुला ठाउँहरू मासिँदै गएको अवस्थामा रुख, फूल, विरुवा रोप्ने प्रयास प्रशंसायोग्य भए पनि हाल भएका कार्य भूगोल सुहाउँदो, सहरमैत्री र प्रभावकारी व्यवस्थापनमा भए/ गरेको देखिँदैन ।
कुश्मा बजार धौलागिरिको प्रवेशद्वार भएको हुनाले पनि सहरी क्षेत्रमा हरियालीका लागि रूखबिरूवा वृक्षरोपण गर्दा बिरुवाहरू छनोट, खरिद, र रोप्न सुरु गर्नु अघिको उद्देश्य र प्रक्रियामा स्पष्ट प्राविधिक पक्षमा विचार पुर्याउनु पर्थ्यो । त्यो पटक्कै देखिएन । संसारबाट विस्थापित हुँदै गएको सल्लोको प्रजाति धुपी रोप्नुपूर्व यसका फाईदा र लाभ बारे हामी सामाजिक छलफल र विषय विश्लेषण पनि गरेनौँ ।
भूगोलको स्थानीय आवशयकता अनुसार बिरुवाका प्रजातिहरू भौगोलिक प्रकृति एवं भौगोलिक अवस्थितिको आधार/ चयनमा ध्यान दृष्टि पुर्याएनौँ । के उद्देश्यका लागि बिरुवा रोप्ने ? कुन प्रजाति रोप्ने ? कति दुरीमा रोप्ने ? रुख बिरुवाका सांस्कृतिक उद्देश्य, आनीबानी र आवश्यकतामा न्यून दृष्टि पुर्याएनौँ । फलत: यही नै राम्रो र गोडमेलको आनन्दभावमा रमायौँ । गल्ती गर्यौँ ।
फूलबोट रोप्नुपूर्व बिरुवाहरूको विकास र ती स्थलहरूमा अनुकूलनका लागि माटो सबैभन्दा महत्त्वपूर्ण हुन्छ; त्यसकारण, वृक्षरोपण स्थलको माटोको पिएच मान (अम्लीय वा क्षारीय) जस्ता गुणहरू पहिचान गर्नुपर्छ । हामीलाई त्यो आवश्यकता किन लागेन !? बाटो स्तरवृद्धि गर्दाका घुर्यान/ कचडा जम्मा गरेर डिभाइडर भर्यौं । र धुपी रोप्यौँ र मख्ख पर्यौं । बिरुवाका लागि सिंचाइको आवश्यकता पनि देखेनौँ।
हामीले सडक, भवन वा पूर्वाधार बनाउन इञ्जिनियर तथा आर्किटेक्टको आवश्यकता पर्छ, त्यस्तै बिरूवाको प्रजाति छनौट गरेर सहरी क्षेत्रमा वृक्षरोपण गर्न पनि वनस्पतिविद तथा त्यस क्षेत्रमा काम गरेका विज्ञहरूको परामर्श/ आवश्यकता पर्छ भन्ने पनि बिर्सियौँ । स्थानीय जलवायु परिवर्तनको असर कम गर्न र स्थानीय वातावरणमा अनुकूलित हुनको लागि रैथाने प्रजातिहरू वृक्षरोपण गर्नु पर्छ भन्ने पनि बिर्सियौँ । फलत: ठूलो गल्ती गर्यौँ ।
हुनुपर्थ्यो
…
कुश्माको (हिजोको पौराणिक कुशुमपुर प्रवेश गर्दा कुनै आगन्तुक स्वप्न बगैँचा छिरेको आभाष महसुस गर्थ्यो) क्षेत्र वरिपरिको वातावरण तथा भौगोलिक भूधरातलमा हिजोदेखि फुल्दै/ रम्दै आएका रैथाने प्रजातिका विरुवाहरूको पहिचार र वर्गिकरण गरि ६ वटै ऋतु झल्किने फूलबिरुवा रोप्न सक्थ्यौँ । हामी त्यो पनि बिर्सियौँ ।
होचुवाको भरमा योजना बनाउँदा कसैलाई पनि फाइदा गर्दैन र भोलि पछुताउनु शिवाय केही हुँदैन भन्ने पनि बिर्सियौँ । यसका लागि नगरले स्थानीयहरूका बीच वृहत् छलफल चलाई दुरदर्शी योजना, विवेक र सोच बनाउनु पर्थ्यो भन्ने पनि बिर्सियौँ । हामीले स्थानीय / रैथाने प्रजातिहरूलाई वृक्षरोपणको लागि प्राथमिकता दिनुपर्थ्यो । हामीले त्यो सबै बिर्सियौँ ।
हामीले हाम्रा रैथाने प्रजाती निगालो, पैयुँ, गोलैची, पारिजात, पलाँस, बोनसाइ गरिएको वर, पीपल, शमी, बेलपत्र, रुद्राक्ष, कपूर, राजवृक्ष, चाँप, गुलमोहर, निम, कदम, कुसुम, असरे, , किम्बु, तेजपत्ता, भिमसेनपाति, कपुर पलाश, केतुकी, चमेलि, टिकी फूल आदि सबैसबै बिर्सियौँ र धुपी रोप्यौँ । रोज्यौँ । रैथाने दुबोको महत्व र महिमा बिर्सिएर चाइनिज दुबोका चपरी बिछ्यायौँ ।
अब हमी आफैँ महसुस गरौँ । हामीले कत्रो गल्ती गर्यौं ?
यस्तो कार्यले वृक्षरोपणको उद्देश्य पूरा गर्दैन । सहरमा वृक्षरोपण गर्दा हरियाली बढाउने उद्देश्य त लिनुपर्छ नै, त्यो सँगसँगै पैदलयात्रुलाई असुविधा नहुने र सहरी सौन्दर्यसँग मेल खाने प्रजातिका वनस्पति छनौटमा हामीले ध्यान पुर्याऔँ । अझैं सोचौँ हामीले कत्रो गल्ती गर्यौँ ?
जीवनको साँचो अर्थ भनेकै रुख रोप्नुमा छ । हामीलाई कुन रुख बिरुवाले ज्यादा माया गर्छ भन्ने पनि बिर्सियौँ । हामीले यसो गर्नु एक किसिमको अपराध जस्तै हो र विकृतिको आरम्भ हो भन्ने पनि बिर्सियौँ ।
यसतर्फ सरोकार पक्ष सबैको ध्यान जाओस् । व्यवस्थित कुश्मा हामी सबैको साझा सोच बनोस् । कुश्मेलीको सोच बदलियोस् ।
…
— आरके अदीप्त गिरी , कुनपा-६, पर्वत