पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्यासको यथावत्

काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । ग्यसको मूल्य भने यथावत राखेको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार ग्यसमा अझै ५४५ रुपैयाँ घाटा रहे पनि खुद्रा मूल्य यथावत राखिएको छ । अप्रिल १ मा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट आएको मूल्यसूचीमा इन्धनको मूल्य घटेर आएको थियो । आईओसीबाट इन्धनको मूल्य घटेर आए पनि निगमले मूल्य समायोजन नगरेको भन्दै चर्को दबाब खेप्नुपरेको थियो ।

निगमले आज (सोमबार) राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको छ । यसैगरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँ र (बाह्यतर्फ) प्रति किलोलिटर अमेरिकी डलर ७० ( अर्थात् करिब १० रुपैयाँ प्रतिलिटर) ले घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि सञ्चित नोक्सानीमा सञ्चालन हुँदै आएको निगमले जनाएको छ ।

यस्तै निगमले नेपाल सरकारको ऋण र आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब १४ अर्ब रुपैयाँ अझै बाँकी रहेको पनि प्रवक्ता ठाकुरले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *