पर्वत ।
जिल्लाको मोदी गाउँपालिका वडा नं ३ देउरालीलाई शुक्रबार बाल दिवसकाे अबसरमा एक विशेष समारोहकाबीच बालमैत्री वडा घोषणा गरिएको छ । नेपाल सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ ओटा सूचक पूरा गरेसँगै सो वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।
उक्त घोषणा कार्यक्रमका प्रमुख अतिथि एवं राष्टिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्नु भएका हो । यो घोषणा सँगै देउरालीले पर्वतको तेस्रो बालमैत्री वडाको पहिचान बनाउन सफल भएको छ । यस अघि मोदीकै वडा नं ८ चित्रे र पैयूँको भोर्ले बालमैत्री वडा घोषणा भैसकेका छन् ।
बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमिल्सिनाले हरेक योजना तथा कार्यक्रमहरु बनाउँदा बालबालिकाको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो । बालमैत्री अभियान सफल हुनु आफैंमा सुन्दर पक्ष भएपनि यसको दिगोपनामा जोड दिन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै मोदी गाउँपालिका अध्यक्ष हिरादेबी शर्माले गाउँ पालिकालाई पूर्ण बालमैत्री बनाउने योजनाका साथ काम भइरहेको र आगामी दिनमा बाँकी रहेका ६ वटा वडामा समेत अभियान सञ्चालन गरिने बताउनु भयो । बालमैत्री वडा घोषणा सँगै अध्यक्ष शर्माले कक्षा १० सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई दिवा खाजा समेत उपलब्ध गराउने उद्घोष गर्नुभयो । जम्मा पाँच सय घरधुरी रहेको सो वडाको जनसंख्या एक हजार पाँच सय १२ रहेको छ भने १६ बर्ष मुनिका बालबालिकाको संख्या छ सय ९० रहेको छ । सो वडामा अधिकांश दलित समुदायका बालबालिकाहरु रहेका छन् भने उनीहरुको आर्थिक अबस्था कमजोर रहेको छ ।
कार्यक्रममा बोल्दै बालमैत्री वडा निर्माण गर्नका लागि आवश्यक पर्ने सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष देबेन्द्र क्षेत्रीले बताउनुभयो । बालबालिकाको आवाज र विचारलाई बालबालिकासम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिइएको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले बालमैत्री वडा घोषणाले सभ्य र सुसंस्कृत समाजको निर्माणमा टेवा पुग्ने विचार व्यक्त गर्दै यसको सफल कार्यान्यनमका क्रममा आइपर्ने चुनौतिहरुको सामना गर्न सबै पक्षको सहयोग आवश्यक पर्ने बताए ।
बालमैत्री वडाले बालअधिकार महासन्धिमा आधारित रही बालअधिकारको सवाललाई आत्मसात गर्ने गर्दछ । बालमैत्री वडाका ५१ ओटा सूचकमा गर्भवती महिला, नवजात शिशुको स्वास्थ्य जाँच, टीटी विरुद्धको खोप, दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएको, ६ महिनासम्म अनिवार्य स्तनपान, ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाएको हुनुपर्ने व्यवस्था छ ।
त्यसैगरी एक वर्ष भित्रका बालबालिकालाई पूर्णखोप, सबै घरपरिवारमा आयोडिनयुक्त नुन, कमतौल, पुड्को र ख्याउटेपन हुने बालबालिकाको संख्यामा कमि हुनुपर्ने, सबै घरधुरीमा खानेपानी, शौचालय, अनिवार्य जन्मदर्ता, बालविवाह मुक्त भएको हुनु पर्दछ । सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको, सडक बालबालिका शून्य, बालसञ्जाल गठन, विद्यालय तथा स्वास्थ्य व्यवस्थापन समितिमा बालक्लवको प्रतिनिधित्व, बाल भेला भई आएका योजनाहरू समावेश भएको लगायतका कार्य हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
बालमैत्री वडा घोषणा गर्न गुडनेवर्स इन्टरनेसनलको सहयोगमा सोडेक नेपालले काम गर्दै आएको थियो भने स्थानीय वडाले समेत सुचक पुरा गर्नका लागि विभिन्न चरणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियोे । घोषणा कार्यक्रममा सहयोग पुरयाउने सोडेक नेपाल, विद्यालयहरु, आमा समूह, स्वास्थ्य संस्था लगायत बिभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको थियो ।
कार्यक्रम शुरु हुनु भन्दा पहिला बालमैत्री नाराहरु लेखिएका व्यानर, प्लेकार्ड सहितको र्यालिले गाउँ परिक्रमा गरेको थियो । विद्यालयका बालबालिकाहरूले सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।











