पर्वत ।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा मोदी गाँउपालिकामा विद्यार्थीहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा अहिले पनि समाजमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विभेद भएको भन्दै विद्यार्थीहरुले यसको न्युनिकरणको बिषयमा चासो ब्यक्त गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि तथा मोदी गाँउपालिका अध्यक्ष हिरा देवी शर्माले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद अझै हट्न नसकेको बताउदै जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको जिकिर गर्नुभयो ।
विद्यार्थीहरु सँग अन्तरक्रिया गर्दै छुवाछुत उन्मुलन कसरी गराउन सकिन्छ र यसको प्रभाव कस्तो रहन्छ भन्ने विषयमा कार्यक्रमका सहजकर्ता तथा सामाजिक अभियन्ता चन्द्र बिकले प्रष्ट पार्नुभएको थियो । जातीय विभेद दलित–दलितबीच र गैरदलितमा भए पनि यसको बढी मारमा दलित समुदाय परेको बिषयमा पनि उहाले प्रष्ट पार्नुभयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विकाश तिमिल्सिना र शिक्षक भुमिराज शर्माले अहिले वडा देखि राष्ट्रको उच्चस्तरीय पदमा दलितले नै नेतृत्व गरिरहेको र दलितको सिपलाई सम्मान गर्ने तर कार्यशैली फरक गर्नु अमानवीय व्यावहार गर्नु गलत भएको बताउनुभयो ।मोदी गाँउपालिका २ देउपुरको जननेत्र माविमा आयोजित अन्तरक्रिया कार्यक्रमको स्वागत कार्यपालिका सदस्य लक्ष्मी बिकले गर्नुभएको थियो भने सञ्चालन महिला तथा बालबालिका उपशाखा संयोजक शोभा देवी शर्माले गर्नुभएको थियो ।