पर्वत ।
जिल्लाको जलजला गाउँपालिकाले दशैँ र तिहारबीचकाे बिदाको समयलाई सदुपयोग गर्दै कमजोर उपलब्धि प्राप्त गरेका विद्यार्थीहरूलाई उपचारात्मक शिक्षण विधिबाट अध्यापन गराइरहेको छ।
प्रथम त्रैमासिक परीक्षाको नतिजा विश्लेषण गर्दा गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत कतिपय बालबालिकाहरूको शैक्षिक उपलब्धि स्तर कमजोर रहेकाे पाइएपछि पढाइको धेरै चाप नभएको समय पारेर उनीहरूको उपलब्धि स्तरमा सुधार गर्ने प्रयास गाउँपालिकाले गरेको हो।
सो गाउँ पालिकाले ‘गुणस्तरीय शिक्षाको आधारशिलाः सुखी, समृद्ध र समतामूलक हाम्रो जलजला’ भन्ने नाराका साथ शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शैक्षिक सुधारका योजना कार्यान्वयन गरिरहेको छ । विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न सहयोग पुग्ने अपेक्षा सहित उपचारात्मक कक्षाहरू संचालन गरिएको अध्यक्ष राजु आचार्यले बताउनु भयो ।
घरमा पढ्ने वातावरण नभएका , गरिबीको अवस्थामा गुज्रिएका परिवारका बालबालिकाहरू यो कार्यक्रमबाट बढी लाभान्वित हुने विचार अध्यक्ष आचार्यकाे रहेको छ । व
उक्त उपचारात्मक शिक्षण वडा-१ मा रहेको ज्योति मण्डल मा.वि, वडा-३ मा रहेको विद्या ज्योति मा.वि., वडा-५ मा रहेको ग्राम प्रकाश मा.वि., वडा-६ मा रहेको ज्योति मा.वि. र शालिजा मा.वि., वडा-७ मा रहेको कृष्ण भवन धर्म मा.वि., फर्से धाइरिङ मा.वि. र शिव मा.वि. वडा-८ मा रहेको जनकल्याण मा.वि. तथा वडा-९ मा रहेको बनौँ मा.वि. गरेर १० वटा विद्यालयमा चाडपर्वको बेलामा पनि विशेष कक्षाहरू सञ्चालन गरिएको गाउँ पालिकाको जानकारी दिएको छ ।
ती विद्यालयहरूमा करिब चार सय जना विद्यार्थीहरूले उपलब्धि सुधारका लागि अध्ययन गरिरहेका छन्। पाठ्यक्रममा समावेश भएका तर विद्यार्थीको सिकाइमा बढी समस्याग्रस्त विषयवस्तुमा केन्द्रित रहेर कक्षा सञ्चालन भइरहेकाले विद्यार्थीहरू किताबका समस्याबाट भाग्ने बानीको न्यूनीकरणका लागि पनि यो अभियानले काम गर्ने अध्यक्ष आचार्यको भनाइ छ।
यस्तै पछिल्लो समय प्रविधिमैत्री शिक्षाको विकास भइरहेको सन्दर्भमा ती विद्यार्थीहरूलाई सूचना तथा प्रविधिको प्रयोगमार्फत अध्ययनमा सहभागी हुने तरिकाहरूको बारेमा पनि अध्यापन भइरहेको छ। प्रविधिमा कमजोर रहेका विद्यार्थीहरूले ‘इन्टरनेट’ वा ‘सर्च इन्जिन’ मा रहेका विषयवस्तुहरू खोजेर स्वअध्ययन गर्न समेत समस्या भोग्दा उनीहरूको सिकाई स्तर कमजोर रहेकोले यी विशेष कक्षामा प्रविधिको प्रयोगका बारेमा पनि अध्यापन गरिएको छ।
स्थानीय तहको निर्वाचनको बेलामा आफूले शैक्षिक सुधारको क्षेत्रमा काम गर्ने बताएर जनताको आँगनमा पुगेकाले आफूले बोलेको कुरा पूरा गर्नैको लागि शैक्षिक सुधार आवश्यक रहेको भन्दै उनले गाउँपालिकाको प्राथमिकतामा शिक्षा र स्वास्थ्य रहेको उल्लेख गरे।
गत कार्त्तिक १० गतेदेखि बिहान र बेलुका गरेर दैनिक दुई घण्टा ‘उपचारात्मक कक्षा’ सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्य बताउँछन्। ‘उपचारात्मक कक्षा’ मा विद्यार्थीहरूको मामला अध्ययन गरेर सिकाइमा कमजोर रहनुको कारण पत्ता लगाई त्यसको समाधानको लागि विद्यार्थी स्वयंलाई सक्रिय बनाउन शिक्षकले सहयोग गरिरहेका छन्।
विद्यार्थीबाट समाधान हुन नसकेमा शिक्षक, विद्यालय, वडा हुँदै गाउँपालिकाले त्यसको समाधानका लागि प्रयास गरेर विद्यार्थीको अध्ययन वातावरण सधैँका लागि राम्रो बनाउने प्रयास भइरहेको शिक्षा अधिकृत आचार्यको भनाइ छ।
उपचारात्मक शिक्षण लाई सफल बनाउनकै लागि यो कार्यक्रम भन्दा अगाडि नै अभिभावकहरूलाई भेला पारेर उनीहरूका सन्तानको शैक्षिक अवस्थाका बारेमा जानकारी गराइएको छ। अभिभावकहरूले उनीहरूका लागि घरमा निर्माण गरिदिनुपर्ने वातावरणको बारेमा सिकाएर पठाएपछि विद्यार्थीहरूको लागि कक्षा सञ्चालन गरिएको हो।
गाउँ पालिकाको यस अघि नै शिक्षकहरुका लागि आईसीटी तालिम समेत सम्पन्न गरी सकेको छ ।
विद्यालयमा हुने त्रैमासिक तथा बार्षिक परीक्षा पनि पालिका ले नै एकरूपता का साथ सञ्चालन गरी नतिजा प्रकाशित गर्ने, विश्लेषण गर्ने र सुधारका उपायहरू अवलम्बन गर्ने काम गरी रहेको छ ।