पर्वत ।
यस वर्षको मनसुन शुरु भइसकेको छ । वर्षा शुरू भएसंगै मोदी गाउँपालिकाको वडा नं २, देउपुर, जरुवाका बासिन्दा चिन्तित बनेका छन् । गत वर्ष असारमा आएको पहिरोले सो स्थानका अधिकांश घरहरू पुरिएका थिए । समयमै संरक्षणको उपाय अपनाउन नसक्दा बस्ती नै पुरिएको थियो । बस्ती नै सखाप भएपछि सो स्थानमा पहिरोबाट आउने बाढी रोक्न जाली लगाउने काम भएको छ । तर पहिरोबाट बचेका केही घरहरू पनि अहिले नजिकैको पातीखोला कुन दिन बस्तीमा पस्ने हो भन्ने त्रासमा रहेका छन् ।
पातिखोला तटबन्धका लागि लगाइएका जालीहरु केही वर्ष पहिले नै भत्किएका छन् । तटबन्ध भत्किएको धेरै समय बितिसक्दा पनि सो स्थानमा मर्मत सम्भार हुन सकेको छैन ।पातिखोलाको किनारमा रहेका झण्डै एक दर्जन घर, बंगुर फार्म सहित मोदी गाउँ पालिकाको वडा न २,३ ४ र ५ जोड्ने पातीचौर टिमुरे क्याङ सडक समेत जोखिममा परेको छ ।
यसवर्ष पाती खोलाबाट ठूलो मात्रामा ढुङ्गा गिटी बालुवा उत्खनन् गरिएको हुँदा झनै जोखिम बढेको स्थानियहरु बताउँछन् । उत्खननका कारण खोलाको बहावमा परिवर्तन आउने अवस्था छ । यसवर्ष पातीखोलाको जलाधार क्षेत्रमा फराकिलो सडक खनिएको छ । त्यो सडक निर्माणको काम जारी छ । ठूलो वर्षा हुँदा सडक निर्माण गर्दा खनेर फालिएको माटो बगेर आउने जोखिम उत्तिकै छ ।
पातीखोलाको दक्षिण तर्फको किनारमा जग्गा संरक्षणको लागि अहिले धमाधम तटबन्धको काम भइरहेको छ । तर बस्ती र सडक भएको उत्तर तर्फको किनारमा तटबन्द निर्माण तथा मर्मतको लागि कुनै चासो नदेखाएको स्थानीय बासिन्दाहरूको गुनासो रहेको छ ।
बस्ती तथा सडक संरक्षणका लागि तत्काल पहल नगर्ने हो भने पाती खोलाले यहां ठूलो क्षति निम्त्याउन सक्छ । स्थानीय बासिन्दा कुल बहादुर हमाल भन्नु हुन्छ – ” हामी निकै त्रासमा छौं । ग्याविन जालीहरू भत्किएका छन् । सडक भत्किएको छ। तर यसतर्फ कसैको चासो पुगेको छैन । अत्यावश्यक र जोखिम युक्त स्थानमा तत्काल संरक्षणका उपायहरू अपनाउनु पर्नेमा राज्यको ध्यान पुग्न सकेको छैन । यथाशीघ्र तटबन्ध निर्माण तथा मर्मत नगर्ने हो भने पुरै बस्ती नै विस्थापित हुनु पर्ने अवस्था आउन सक्छ । ”
एकातर्फ बिना अध्ययन जोखिमको आँकलन नगरी नदीजन्य पदार्थको उत्खनन् तथा बिक्री वितरण गर्ने कार्यले प्राकृतिक प्रकोपलाई झनै बढावा दिने गरेको छ भने अर्को तर्फ आवश्यकताका आधारमा भन्दा पनि पहूँचका आधारमा योजनाहरू पार्ने र विकासका कार्यहरू हुने प्रवृत्तिको कारण यस्ता समस्याहरू समयमै समाधान नहुने र ठूलो जोखिम निम्तिने गरेको छ ।
बाढी पहिरो तथा नदी किनारका बस्तीहरुको समयमै अनुगमन गरी जोखिमको मूल्यांकन गर्नु जरुरी छ । समस्या निम्तिनु भन्दा पहिले नै सावधानी अपनाउन सकियो भने ठूलो क्षतिबाट बच्न सकिन्छ । त्यसैले विगतका नमीठा अनुभबहरुबाट पाठ सिक्दै सम्बन्धित निकायहरुबाट समयमै उचित कदम चाल्नु पर्ने टड्कारो आवश्यकता देखिएको छ ।




