काकडभिट्टा ।
कुनै समय खाद्यान्नमा आत्मनिर्भर रहेको नेपाल अहिले आयातमा भर पर्नुपर्ने अवस्था आएको छ । बढ्दो बसाइसराईका कारण कोदो फल्ने बारीहरु बाझै रहन थाले पछि विदेशबाट कोदो समेत आयात गर्नु परेको हो ।
आव २०७९-८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गत एक वर्षमा भारतबाट मधेसदेखि हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत ठूलो मात्रामा आयात हुने गरेको छ । गत एक वर्षमा रु ४४ लाख ८० हजार मूल्य बराबरको एक सय १२ मेट्रिक टन फापर भारतबाट आयात भएको छ ।