पोखरा ।
पर्यटनको राजधानी पोखरामा नेपाली नयाँ बर्षको अवसरमा निःशुल्क सटल बस सेवा सुरु भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु गरिएको हो । उक्त सेवाको पोखरा महानगरका प्रमुख धनराज आचार्यले मंगलबार औपचारिक रूपमा सुरु गरे।
पोखरा महानगरपालिकाको पहलमा महानगर यातायात प्रालि, कृषि बिकास बैक, कामना सेवा विकास बैकको सहकार्यमा सेवा सुरु गरिएको हो। पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म यो सेवा निःशुल्क प्रयोग गर्न पाइने छ । त्यसपछि भने न्यूनतम शुल्कमा नियमित रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ। पोखराका मेयर धनराज आचार्यका अनुसार पोखरामा विमानस्थलदेखि लेकसाइड वा शहरका विभिन्न ठाउँमा जाँदा महँगो ट्याक्सी भाडाको गुनासो बढेपछि यसको विकल्पका रूपमा यो सेवा सुरु गरिएको हो।
विमानस्थलबाट मुख्य चोक क्षेत्रमा यात्रुलाई ल्याए पछि विभिन्न विकल्पमा आफ्नो गन्तव्यमा पुग्न सकुन भन्ने उद्धेश्यले पहिलो चरणमा २ वटा बसबाट उक्त सेवा संचालन हुने भएको आचार्यले बताए । ३२ सिटे इलेक्ट्रिक बस छ, जसमा आरामदायी यात्रा अनुभवका साथै लगेज राख्ने सुविधा पनि पाइनेछ। बिहान ६ बजेदेखि राति १० बजेसम्म दैनिक दुई वटा बसले निरन्तर सेवा दिने व्यवस्था मिलाइएको छ। पोखरा विमानस्थलमा दैनिक ५ हजार यात्रु ओहोरदोहोर गर्ने गर्छन ।