पर्वत ।
जिल्लाको जननेत्र स्काउट ट्रूप र अस्ट्रेलियाको आइभान्हो सी स्काउट ट्रूपको संयुक्त आयोजनामा मोदी गाउँ पालिकाको भमर्कोट क्षेत्रमा लालीगुँरास संरक्षण अभियान सञ्चालन गरिएको छ । सोमबार सो क्षेत्रमा दुवै स्काउट ट्रुपका सदस्यहरुद्वारा लालीगुराँसका बिरुवाहरू रोपी अभियानको शुरुवात गरिएको हो । पातलिँदै गएको लाली गुराँसको संरक्षण गर्दै जैविक विविधताको संरक्षणमा सहयोग गर्ने उद्देश्यका साथ करिब बाइस सय मिटरको उचाइमा उक्त अभियानको थालनी गरिएको कार्यक्रमका संयोजक इन्द्र गुरूङले जानकारी दिनु भयो ।
बिहान पाँच बजे अँध्यारोमा हाईकिंगका लागि निस्केको असी जनाको स्काउट टोली र स्थानीय गरी झण्डै एक सय जनाको सहभागितामा सो अभियान सञ्चालन भएको थियो । उक्त टोलीले सो अवसरमा प्रसिद्द भमरकोट मन्दिर दर्शन गरी लालरुपा भ्यू टावर बाट अन्नपूर्ण हिम श्रृङ्खलाको दृष्यावलोकन समेत गरेको थियो ।
कार्यक्रम पश्चात भमर कोट परिसरमा सरसफाइ कार्यक्रम समेत संचालन गरिएको जन नेत्र स्काउट ट्रूपका शिक्षक यामनाथ पौडेलले जानकारी दिनु भयो । शिक्षक पौडेलले दिएको जानकारी अनुसार दुवै स्काउट ट्रूप बीच मितेरी सम्बन्ध स्थापित भएको छ । जन नेत्र माविको परिसरमा करिब ७५ हजारमा निर्माण गरिएको मितेरी चौतारीको समाजसेवी इन्द्र गुरुङले एक विशेष कार्यक्रमका बीच समुद्घाटन गर्नु भएको थियो भने परिसर वरपर बर, पिपल,धुपी लगायतका बिरुवाहरू समेत रोपिएको थियो ।
सोही अवसरमा आइभान हो सी स्काउट ट्रूपले जन नेत्र स्काउट ट्रुपलाई टेन्ट, स्लिपिङ व्याग, टर्च लाईट, स्काउट ड्रेसको लागि एक लाख रुपैयाँ लगायतका बन्दो बस्तीका सामाग्रीहरू उपहारस्वरूप प्रदान गरेको थियो । जन नेत्र स्काउट ट्रुपले अतिथिहरुको सम्मानमा स्काउट सलामी, नृत्य, मायाको चिनो, स्कार्फ, नेपाली टोपी, सम्मान पत्र लगायतका चिनोहरु प्रदान गरेको थियो ।
उक्त कार्यक्रमहरुबाट दुवै देशका स्काउटमा आबद्ध विद्यार्थीहरू बीच मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न, स्काउटिङ अनुभबहरु आदान प्रदान गर्न, आफ्ना कला, संस्कृतिको जगेर्ना तथा प्रचार प्रसार गर्न मद्धत पुगेको सहभागीहरुले बताएका छन् । स्काउट लिडर आशिष पौडेल भन्छन् – “हाम्रो लागि यो सुवर्ण अवसर हो । यस कार्यक्रमले हामीमा थप आत्मविश्वास, उत्प्रेरणा र हौसला प्रदान गरेको छ । आपसी अनुभब आदान प्रदान ले स्काउट का गतिविधिलाई थप व्यवस्थित, प्रभावकारी बनाउन सहयोग पुनेछ । ”

