पर्वत ।
जिल्लाको मोदी गाउँ पालिका वडा नं २ देउपुर, मखमा रहेको शिव आधारभूत विद्यालयले आफ्नो स्थापनाको पचास वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती समारोह तीन दिने कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ । मंसिर २२, देखि २४ गते सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी स्वर्ण महोत्सव सम्पन्न गरिएको हो ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयले प्रावि स्तरीय खुला नृत्य तथा पढाइ दौडको आयोजना गरेको थियो । गाउँ पालिकाका विभिन्न विद्यालयहरुको सहभागिता रहेको कार्यक्रममा नृत्य प्रतियोगितामा बाजुङ आधारभूत विद्यालय क्याङ प्रथम भएको छ भने पढाइ दौड तर्फ देउपुर नमुना आबासीय मावि विजयी भएको छ । सो अवसरमा अभिभाबक खेल, विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि प्रदर्शन गरिएको थियो ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयले जग्गा दाता, चन्दादाता, पूर्व शिक्षकहरु, पूर्व विद्यार्थीहरू, समाजसेवीहरुलाई सम्मान गरेको थियो । महोत्सवको संघीय सांसद एबम् पूर्व मन्त्री पदम गिरीले उद्घाटन गर्नु भएको थियो ।महोत्सवमा गण्डकी प्रदेशका पूर्व सांसद ललितकला गुरुङ, मोदी गाउँ पालिका अध्यक्ष हिरादेबी शर्मा, उपाध्यक्ष विमल लामिछाने,शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मोतिलाल चपाई , सामाजिक शाखा प्रमुख दिनेश शर्मा, वडाध्यक्ष बेलबहादुर कार्की, जग्गा दाता प्रेम कुमार गुरुङ लगायतले मन्तब्य राख्दै विद्यालयले गरेको प्रयासको प्रशंशा गरेका थिए ।
स्वर्ण महोत्सवको क्रममा विभिन्न व्यक्ति तथा संस्थाहरुले विद्यालयलाई आर्थिक सहयोग गरी रहेका छन् । हाल सम्म करिब ३ लाख सहयोग प्रात भइसकेको र सहयोग आउने क्रम जारी रहेको विद्यालयका प्रअ तोयानाथ पौडेलले जानकारी दिनुभयो ।
विगतमा विद्यार्थीहरूको उल्लेख्य संख्या रहेकोमा केही वर्ष यता विद्यार्थीहरूको संख्या घट्दै गएर विद्यालय झण्डै मर्ज हुने अवस्थामा पुगे पछि स्थानियहरुले विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारको निम्ति अभियान नैं चलाएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर गुरुङ भन्नु हुन्छ -” ऐतिहासिक विरासत बोकेको विद्यालय जगाउनको लागि अभियान चलाएपछि अन्यत्र निजी विद्यालय खोज्दै गएका विद्यार्थी गाउँकै विद्यालयमा फर्किएका छन् । केही आशा जागेको छ । विश्वास पलाएको छ । विद्यालयप्रति स्थानियको चासो बढेको छ । सहयोग गर्ने क्रम तीब्र भएको छ । पठन पाठन तथा अतिरिक्त क्रियाकलापमा सुधार आएको छ । ” विद्यालयलाई भौतिक तथा शैक्षिक रूपले मजबूत बनाई गुणस्तरीय शिक्षा गाउँमै उपलब्ध गराउन प्रयास भइरहेको अध्यक्ष गुरुङले बताउनु भयो । विद्यालयमा हाल तीस जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
झण्डै बन्द हुन लागेको स्कूल जागेकोमा खुशी व्यक्त गर्दै स्थानीय अभिभाबक एवम युवा व्यवसायी कृष्ण कार्कीले भन्नुभयो “- गुणस्तरीय शिक्षाको लागि सिङ्गो गाउँ एक जुट भएको छ । यति सानो विद्यालयले ठूलो कार्यक्रमको आयोजना गरी सफलता पूर्वक सम्पन्न गरेको छ । आगामी दिनमा अझै राम्रो गर्न लागि पर्ने छौं। ”
