भमरकोट मन्दिरमा पूजा सम्पन्न, दर्शनार्थीको घुइँचाे

पर्वत ।

जिल्लाको मोदी गाउँ पालिकाको उत्तरी भेगमा रहेको प्रसिद्ध धार्मिक स्थल भमरकोटमा आज शनिबार विधिपूर्वक पूजा सम्पन्न भएको छ । आज उक्त मन्दिरमा भाकल स्वरूप सात ओटा बोकाको बलि दिइएको थियो । उक्त मन्दिरमा पूजा गर्न बिहानै देखि टाढा टाढाबाट हजारौं भक्तजनहरू पुगेका थिए ।

भमरकोटको धार्मिक पक्ष

परापूर्वकालमा बनेको ऐतिहासिक मन्दिर भमरकोटमा वर्षा शुरू हुनु पूर्व र हिउँदमा बाली भित्र्याउने बेला गरी दुई पटक पूजा हुन्छ ।आवश्यक पर्दा वर्षा गराउन र बाली भित्र्याउने बेला पानी , असिना नपरोस्, कुनै क्षति नहोस् भन्ने विश्वासका साथ भमरकोटमा पूजा गर्ने गरिन्छ ।

खडेरी लागेको बेलामा मन्दिरमा पूजा गर्दा इन्द्र देवता खुसी भई वर्षा गराइदिने गरेको जनविश्वास रही आएको छ। उक्त मन्दिरमा गएर भाकल गरेमा बर मागेको कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ बलि दिने चलन पनि छ ।

शक्ति पिठका रूपमा चिनिने भमरकोटमा शिद्दबाबा , शक्तिमाता (शैलेश्वरीमाई ) जेठाभूमे गुरुदेव तथा कैलाशेश्वरशिव सहित विभिन्न देवदेवी तथा मठहरु निर्माण गरि साक्षात दैविक धाम निर्मित भएका ईतिहास वर्तमान सम्म जिवित छन् ।  अलौकिक दैविक शक्तिले भरिपूर्ण यस स्थलको दर्शन तथा भ्रमण मात्रैले पनि महान पुण्य लाभ हुने र मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनहरू यहाँ आई पूजाआजा गर्ने गर्दछन् ।

भमरकोटकाे ऐतिहासिक पक्ष

भमरकोट क्षेत्र बाइसी चौबिसी राज्यको बेलामा मल्ल राजाले शासन गरेको ठाउँ हो। त्यहाँ अहिले पनि ओखल लगायतका केही भग्नावशेषहरू देख्न सकिन्छ।  तत्कालिन देवपुर अन्तर्गत पूर्वोत्तर पर्वतको अधिकांश भाग पर्दथ्यो । प्राचीन पर्वत राज्यका मल्ल राजाहरुले यस राज्यको राज गर्ने क्रममा राज्य विभाजन गरिंदा राजा रघुदत्त मल्ल पावन देवपुर क्षेत्रको राजा भई आउनु भएको र मन्त्री या उपासुको रुपमा खड्का एवम् कार्कीहरु रहिआएको पाइन्छ । आगमनको समयमा पाल्पा बाट ल्याईएकी भगवतीको पहिलो मूर्ति बाग्लुङमा स्थापना गरि दोस्रो कालिकाको मूर्ति सहित देवपुरकोटमा शरदकालिन तथा भमरकोटमा गृष्मकालिन दरवार निर्माण गरी राज्य संचालन गरिएको थियो । उक्त समयमा शक्तिपिठको प्रतिष्ठा वैदिक रुपमा गरि ब्राह्मणहरुद्वारा पूजापाठ गर्ने, नौमती तथा पञ्चे बाजाद्वारा सेवा लगाउने गरी शासकिय कार्य गरिदै आएको भनाइ रहेको छ।

भमरकोटको प्राकृतिक पक्ष

भमर कोट मन्दिर समुन्द्र सतहबाट झण्डै २४ सय मिटरको उचाइमा रहेको छ ।  भमरकोट प्राकृतिक दृश्य नियाल्नको लागि आकर्षक गन्तव्य हो। अन्नपूर्ण हिमशृङ्खलाको सहज अवलोकन गर्न सकिने भमरकोट क्षेत्र बाट गण्डकी प्रदेशका अधिकांश भाग र लुम्बिनी प्रदेशका केही भूभाग देख्न सकिन्छ । सो स्थानबाट गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, लमजुङ जिल्लाका बिभिन्न भूभागहरू देख्न सकिन्छ । ती स्थानहरूकाे अलावा गुल्मी र पाल्पा जिल्ला देखिनुका साथै अन्नपूर्ण हिमशृंखला निकै मनमोहक देखिन्छ । यस क्षेत्रबाट नागबेली नदी तथा खोलाहरूकाे मनोरम दृश्य देखिन्छ । हरियाली  फाँटहरू,  ठूला घाँसे मैदान, दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने त्यस क्षेत्रको अर्को आकर्षण हो। यस क्षेत्रमा विभिन्न प्रजातिका चराचुरुङ्गी, र जङ्गली जनावरहरू देख्न पाइन्छ ।

कसरी पुग्ने भमर कोट

पर्वतको पातीचौर वा कास्कीको नयाँपुलबाट भमरकोट जान सकिन्छ। मोदी गाउँपालिकाको पातीचौरबाट करिब सात किमि पक्की सडक बाट मैदान सम्म गाडीमा पुग्न सकिन्छ । मैदान नजिकैको जोगिथुम पुगेपछि त्यहाँबाट करिब दुई घण्टाकाे उकालो पैदल यात्रा गरेपछि भमरकोट पुग्न सकिन्छ।

त्यसै गरी पातीचौर–पूर्णगाउँ–लाङदी हुँदै भन्ज्याङसम्म कच्ची सडक पुगेको छ। वर्षाको समयमा सडक सुचारु नभएता पनि हिँउदमा सडक मर्मत भएको बेला बस, जिप मोटर साइकल लिएर त्यहाँसम्म पुग्न सकिन्छ । भञ्ज्याङ बाट करिब आधा घण्टा हिंडे पछि भमरकोट पुगिन्छ ।

नयाँपुलबाट मोहोरिया, ताङले हुँदै पनि त्यहाँ पैदल मार्गबाट पुग्न सकिन्छ । नयाँपुल – मोहरिया – लप्सिबोट हुँदै घिब्राङ् सम्म सडक पुगेको छ । त्यहाँ बाट करिब एक घण्टा पैदल हिंडे पछि मन्दिर पुग्न सकिन्छ । पैदल यात्रा गर्दै भमरकोट पुगेपछि त्यहाँबाट नजिकै रहेको अर्को पर्यटकीय गन्तव्य पुनहिल पुग्न सकिन्छ।

पदमार्ग निर्माणको क्रममा रहेका कारण केही मात्रामा पर्यटकहरु हिँड्ने गरेका छन्। पर्यटकहरूका लागि भञ्ज्याङ नजिकै एउटा मात्र होटल रहेको छ । पदमार्गमा पिउने पानीका धारा, यात्रु विश्राम स्थल , होटल जस्ता पूर्वाधारहरू निर्माण अझै हुन सकेका छैनन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *