माेदीबेणाीबाट ल्याइएको फूलपाती देउपुरकाेटमा भित्र्याइयो

मोदी पर्वत ।
दशैंको सातौं दिन आज धार्मिक परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाइएको छ । उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्राउने चलन छ ।

यसैक्रममा मोदी र काली गण्डकीको संगम स्थल मोदी बेणीबाट ल्याइएको फुलपाती विधिपुर्वक देउपुरकोट कालिका मन्दिर परिसरमा रहेको दसैँघरमा भित्राइएको छ । परापूर्व कालदेखि नै मोदी र काली गण्डकीको संगम स्थल मोदी बेणीबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा रहेको मन्दिरका मूल पूजारी बिष्णु प्रसाद सुबेदीले जानकारी दिनु भयो । आश्विन शुक्ल प्रतिपदाका दिन विधिपूर्वक सुरु गरिएको दुर्गापूजाका क्रममा महाअष्टमी, महानवमी र विजयादशमीका दिनमा विशेषपूजाका लागि शुभ साइतस्वरुप नवपत्रिका अर्थात् फूलपाती भित्रयाउने शास्त्रीय विधान रहेको सुबदीले बताउनु भयो ।

सुबदीका अनुसार सप्तमीको अघिल्लो रात मोदी बेणीमा बास बसी काली गण्डकीको स्नान गरेर पवित्र भई फूलपाती लिएर देउपुर कोट कालिका मन्दिरमा ल्याई बिधिपूर्वक भित्राउने चलन रहेको छ ।

घटस्थापनाका दिनदेखि दशैं सुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीको दिनदेखि शुरु हुन्छ । फूलपातीदेखि दशमीसम्म दशैंको सार्बजनिक विदा हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दशैंको टीका थाप्न जाने परम्परा छ । गाउँघरमा फूलपातीका दिन चोक, मठमन्दिर, पाटी, सत्तल सफासुग्घर गर्ने र रमाइलोका लागि लिङ्गे र रोटेपिङ निर्माण गर्ने परम्परा रहेको छ ।
युवा शक्ति बिदेशिने क्रम बढेसँगै बिगत वर्षहरुमा जस्तो गाउँ घरमा दशैँको रौनक आउन सकेको छैन । दशैँमा भरिभराउ हुने गाउँका घर, टोल तथा मन्दिरहरु यतिबेला सुनसान जस्तै देखिन थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *