पर्वत ।
जिल्लाको मोदी गाउँपालिकाका सुत्केरी महिलालाई राहत मिलेको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘सुत्केरीसँग अध्यक्ष कार्यक्रमले सुत्केरी महिलालाई राहत मिलेको हो। मोदी गाउँपालिकाभित्रका सुत्केरी महिला तथा आमाले पौष्टिक आहारको लागि नगद पाएका छन्। सुत्केरीसँग अध्यक्ष कार्यक्रममार्फत पौष्टिक आहारका लागि नगद प्राप्त भएपछी सुत्केरी महिलालाई राहत मिलेको हो।
गाउँपालिका अध्यक्ष हिरा देवी शर्माले आफु महिला भएकै कारणले पनि गर्भवती तथा सुत्केरी आमाहरुको लागि बिशेष रुपमा ध्यान दिएको र गर्भवती महिलाहरुको लागि पालिका स्तरीय प्रसुती गृहको निर्माण गरिएको बताउनुभयो ।गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार स्वास्थ्य संस्थामा सुत्केरी (प्रसूति सेवा) गराएका महिलालाई यो सुविधा उपलब्ध हुँदै आएको स्वास्थय शाखा प्रमुख उमेश अधिकारीले जानकारी दिनुभयो।
गाँउपालिकाका ८ वटै वडामा सुत्केरीसँग अध्यक्ष कार्यक्रम मार्फत पौष्टिक आहारका लागि गाँउपालिकाका अध्यक्ष हिरा देवी शर्माले नगद रु दूई हजार पाँच सय हस्तान्तरण गर्नुभएको हो । यस सुबिधा प्राप्त गर्नका लागि स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने, नियमित गर्भ जाँच गराएको जस्ता प्रक्रिया पूरा गरेको हुनुपर्ने प्रावधान राखिएको छ। सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सुत्केरीसँग अध्यक्ष कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिकाले जनाएको छ।