वयस्क हुदै जाँदा महिला वा पुरुष छुट्याउने अरू लक्षण/चिह्न/संकेत विकास हुँदै जान्छन्। पुरुषको दारीजुँगा आउने, मांसपेशी कडा हुने, स्तन नबढ्ने, रुद्रघन्टी देखिने आदि। महिलाको छाला र शरीर नरम हुने, स्तन बढ्ने, रजस्वला हुने आदि।
अल्पसंख्यक बालबालिकामा भने अलिकति फरक तरिकाले चिह्न वा संकेत विकास हुन्छन्। उनीहरूमा बालिका यौनांग भए पनि हुर्किँदा पुरुषमा हुने संकेत देखा पर्न सक्छन्। त्यस्तै बालक यौनांग भए पनि हुर्किँदा महिलामा हुने चिह्न देखा पर्न सक्छन्। यस्ता व्यक्तिलाई पूर्वीय दर्शनमा तेस्रो लिंगी भनिएको छ।
केही बालबालिका जन्मिँदा स्पष्ट यौनांग नदेखिन पनि सक्छ। महिला-पुरूष प्रस्ट नभएर दुवैथरी यौनांग मिसिएकालाई ‘उभय व्यञ्जक’ भनिन्छ। कुनै पनि यौनांग नदेखिनेलाई ‘पाण्डक’ भनिएको छ। आधुनिक भाषामा ‘अन्तरलिंगी’ भनिन्छ।