मुक्तिनाथमा केबलकार बनाउन भारतको के एन्ड आर इन्जिनियरिङसँग सम्झौता

पर्वत ।

मुक्तिनाथ केबलकार परियोजना अघि बढाउन भारतको के एन्ड आर रेल इन्जिनियरिङसँग सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ दर्शन प्रालिले हैदराबादस्थित इन्जिनियरिङसँग प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

लगानी बोर्डबाट स्वीकृति प्राप्त आयोजना बनाउन भएको सम्झौतासँगै उक्त कम्पनीले सो परियोजनाका ईपीसी ठेक्का लिने छ । यस्तै, परियोजना कर्जा अपरिवर्त्य मुद्रामा उपलब्ध समेत गराउनेछ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन अध्ययन सकिएको दुई वर्ष भई सकेको छ ।

यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा छ । परियोजनालाई आवश्यक पर्ने जग्गा ९० प्रतिशत खरिद प्रक्रियामा गई सकेको छ । अव कर्जा स्वरूप आवश्यक पर्ने रकम ईपीसीएफबाट व्यवस्था गर्ने भएपछि परियोजनाको वित्तीय स्रोत लगभग जुटिसकेको अवस्था छ ।

परियोजनामा २ प्रतिशत लागत प्रभावित क्षेत्रलाई आरक्षित शेयरबाट व्यहोरिने छ भने ७ प्रतिशत सर्वसाधारणका लागि शेयर निश्कासन हुनेछ बाँकी ११ प्रतिशत प्रवर्द्धक शेयर रहनेछ । यो ५५ अर्ब अनुमानित लागत रहेको परियोजना हो । कम्पनीले परियोजना विकास गर्न बाँकी प्रशासनिक र कानुनी प्रक्रिया समाप्त पारेपछि उक्त कम्पनीसँग तत्कालीन अवस्थाको मूल्य निर्धारणका आधारमा पूर्ण सम्झौता हुनेछ ।

शिलान्यास भएको मितिले बढीमा ४८ महिनामा परियोजना सम्पन्न हुने कम्पनीले जनाएको छ । समझदारी पत्रमा कम्पनीका तर्फबाट प्रवन्ध संचालक श्रीधर सापकोटा र ठेकेदारकारतर्फबाट इन्जिनियरिङका अध्यक्ष कुरु प्रविर काल्‍राले हस्ताक्षर गरे ।

इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना हो। सरकारले दुई वर्षअघि बजेटमा ठूला परियोजना इपिसिएफ मोडलबाट बनाउने बजेटमा ल्याएको थियो।

८० किलोमिटर लामो केबुलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। समझदारीअनुसार कूल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब रुपैयाँ के एन्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *